काठमाडाै‌ महानगरमा सार्वजनिक सवारी राति १० बजेसम्म चलाउनै पर्ने

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ७ बजे पछि पाउन मुस्किल हुन्छ । यात्रु आफ्नो गन्तव्य पुग्न त्यो भन्दा अघि नै बस चढिसक्नु पर्छ । राजधानी तथा महानगरपालिकामा सार्वजनिक यातायातको अवस्था दयनीय भएपछि काठमाडौं महानगरपालिकाले महानगर भित्र सार्वजनिक यातायात राति १० बजेसम्म चलाउनु पर्ने नियम ल्याएको हो ।

काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने बसले विहान ५ देखि राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।

काठमाडौं महानगरपालिकाले आफ्नो सीमाना भित्र सार्वजनिक सवारीलाई व्यवस्थित गर्न उक्त विधेयक ल्याएको हो । विधेयक अनुसार कात्तिकदेखि माघ मशान्तसम्म भने सार्वजनिक बस विहान ५ देखि राति ९ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।

तर, अहिलेकै अबस्थामा काठमाडौं महानगरले भने जसरी बस सञ्चालन गर्न सहज नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाई छ ।

‘यात्रुको उपलब्धता, कुन रुटमा कतिवटा बस कति–कति समयमा गुडाउने, भाडा समान हुने वा वृद्धि गरिनेलगायत विषयमा छलफल नै नगरि महानगरले हचुवाको भरमा नियम बनाएको छ,’ सिटौलाले मेरोअटोसँग भने, ‘व्यवसायीहरु १० बजेसम्म मात्र होइन रातभर बस सञ्चालन गर्न तयार छन् तर यात्रु चाहियो नि ।’

त्यस्तै काठमाडौं महानगरले यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने, प्राथमिक उपचार सामग्री राख्नुपर्ने लगायत व्यवस्था विधेयकमा गरेको छ ।  


Back_to_top