काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का जहाज विभिन्न कारणले काठमाडौंमा अवतरण हुन नसकी ‘डाइभर्ट’ भएमा अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् ।
निगमले यही ३ मंसिरदेखि लागू हुने गरी काठमाडौंमा अवतरण हुन नसक्ने अवस्था आएमा डाइभर्ट गरी भैरहवा अवतरण गर्ने भएको हो ।
अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् ।
निगम प्रवक्ता अनिल घिमिरेका अनुसार यस निर्णयले निगमको खर्च कटौती भई समय बचत हुने विश्वास लिइएको छ । यसबाहेक पोखरा विमानस्थललाई समेत वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न अध्ययन थालनी गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए ।

