यस वर्ष हिउँदमै सुरू गरियो सडकका खाल्डाखुल्डी पुर्न (फोटोफिचर)

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको छ ।

सधैं बजेट सक्न आर्थिक वर्षको अन्त्यमा र वर्षा लागेपछि सुरू हुने सडक मर्मतसम्भार यस वर्षभने हिउँदयाममै सुरू गरिएको हो ।

सडक डिभिजन काठमाडौंका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्र गर्ने कामलाई तीव्रता दिइएको छ ।

डिभिजनले काठमाडौंको बालाजु, लाजिम्पाट, माटापोखरी, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा खाल्डाखुल्डी पुरिसकेको छ । अन्य ठाउँमा पनि तीव्रताका साथ काम भइरहेको डिभिजनले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरू गरिएको जानकारी दिएका छन् ।

उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

सरकारले सडक मर्मत सम्भारका लागि हरेक वर्ष अर्बौं रुपैयाँ बजेट छुट्याउँदै आएको छ । तर, बिग्रेको सडक नियमित मर्मत नगरी असारमा बजेट सक्न मात्रै झारा टार्ने प्रवृत्ति छ ।


Back_to_top