काठमाडौं । महिन्द्राको इलेक्ट्रीक एसयूभी बीई सिक्स बिक्रीको लागि उपलब्ध हुने भएको छ । कात्तिक अन्तिममा ३० युनिट आयात भएसँगै बीई सिक्सको बिक्री सुरू हुन लागेको हो ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इनकर्पोरेट प्रालिले बीई सिक्सलाई साउन अन्तिममा भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमार्फत सार्वजनिक गरेको थियो । उक्त एक्स्पोमा कम्पनीले बीई सिक्सको बुकिङ पनि लिएको थियो ।
‘हामीले गाडी आयात थालेका छौं । बुकिङ गरेर बस्नुभएका ग्राहकलाई पहिला दिन्छौं । त्यसपछि क्रमिक रूपमा बिक्री सुरू हुनेछ,’ कम्पनीका जनरल मेनेजर वरदान बस्नेतले मेरोअटोसँग भने ।
सम्भवतः अबको दुई साता भित्रै बीई सिक्सको आधिकारिक बिक्री सुरू हुनेछ । महिन्द्राले बीई सिक्सको तीन भेरियन्ट नेपालमा बिक्री गर्नेछ । बीई सिक्सको प्याक वानको मूल्य ५७ लाख रुपैयाँ, प्याक टुको मूल्य ६१ लाख रुपैयाँ र प्याक थ्रीको मूल्य ६८ लाख रुपैयाँ कायम भएको हो ।
यस्तो छ बीई सिक्स
निकै सार्प लुक्समा तयार भएको बीई सिक्समा ५९ किलोवाट आवरको ब्याट्रीप्याक दिइएको छ । महिन्द्राले १७५ किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो ।

महिन्द्राले प्योर ईभी प्लेटफर्ममा ल्याएको बीई सिक्समा फ्लस डोर ह्याण्डल, बडीमा प्रशस्तै एजहरूको प्रयोग र एलईडी लाइटको व्यापक प्रयोग गरिएकाले डिजाइन अनुसार फ्युचरस्टिक लाग्छ ।
साइजमा चल्तीका कम्प्याक्ट एसयूभी सरह रहेको बीई–सिक्सको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ । यसमा २७७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ इन्चको ह्वील अप्सन पाउन सकिन्छ ।

२०७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स भएको बीई–सिक्समा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ । यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ । १२.३ इन्चका ड्युल स्क्रीनको कम्बिनेसन उत्कृष्ट छ । यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एपहरू इनब्युल्ट छन् ।
क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ । फ्ल्याटबटम स्टेरिङ ह्वील, एयरक्राफ्टमा हुने थ्रस्ट जस्तो आकारमा दिइएको मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ ।
महिन्द्राले बीई सिक्समा हर्मन कार्डनको १६ स्पीकर, ड्युल जोन क्लाइमेट कन्ट्रोल, मल्टिकलर एम्बियन्ट लाइट, ५ जी कनेक्टीभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्याग जस्ता फिचर उपलब्ध गराएको छ ।

भारतीय उत्पादकले लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीमा ल्याएको एसयूभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसको पीकटर्क भने ३८० न्युटन मिटर छ ।
कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, एभ्रीडे र रेस दिएको छ । लङ रेन्ज भर्सनले ५५० किमी डब्लूएलटीपी रेन्ज दिने बताइएको छ ।

