ट्राफिक चेकिङमा कडाइ, कात्तिकमा ५८ प्रतिशत धेरै उठ्याे जरिवाना

काठमाडौं । ट्राफिक चेकिङमा कडाइ गरिँदै लगिएको छ । जेन-जी आन्दोलनपछि सुस्ताएको चेकिङले पछिल्ला दिनहरूमा तीव्रता पाएको हो ।

ट्राफिक चेकिङ तीव्र पारिएसँगै उठ्ने जरिवाना रकम पनि ह्वात्तै बढेको छ । असोज महिनाको तुलनामा कात्तिकमा ट्राफिक कारबाहीबाट उठ्ने जरिवाना ५८.५६ प्रतिशतले बढेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा ट्राफिक कारबाहीबाट ४ करोड ९७ लाख ४५ हजार ६६१ रुपैयाँ राजस्व उठेको छ । यो असोजको तुलनामा १ करोड ८३ लाख ७२ हजार १५२ रुपैयाँ धेरै हो । असोजमा ट्राफिक कारबाहीबाट ३ करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ राजस्व उठेको थियो ।

यद्यपि, जेन-जी आन्दोलनपछि ट्राफिक राजस्व झण्डै आधाले घटेको छ । त्यसअघि मासिक औसतमा ९ करोड रुपैयाँ बढी राजस्व उठ्दै आएको थियो । गत असारमा १२ करोड ८ लाख र साउनमा मात्रै १० करोड ८८ लाख राजस्व संकलन भएको थियो ।

आन्दोलनका क्रममा देशका दर्जनौं ट्राफिक बिटमा आगजनी हुँदा ट्राफिकका अत्यावश्यक उपकरण समेत जलेका थिए । जसका कारण केही हप्ता नियमित चेकिङ समेत रोकिएको थियो । चेकिङ रोकिँदा नियम उल्लंघन गर्नेलाई कारबाही नहुँदा राजस्वमा गिरावट आएको हो ।

पछिल्लो दिनमा कारबाही तीव्र पारिएकाले आगामी महिनामा राजस्व बढ्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन, जथाभावी हर्न बजाउने, ओभरटेक गर्ने, लेन क्रस गर्ने, ओभरलोड बोक्ने, तोकिएका कागजात नबोक्ने, सवारी जाँचपास नगर्ने लगायतलाई कारबाही गरी जरिवाना तिराउँदै आएको छ ।


Back_to_top