काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिंगे-चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न टेन्डर आह्वान गरेको छ ।
सडक विभागले शुक्रबार तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाउन टेन्डर आह्वान गरेको हो । सडक विभागका अनुसार तिनाउ पुलको ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा लगाउन लागिएको होे । यसमा पुलको डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेक्का पाउने निर्माण कम्पनीले नै गर्नुपर्छ ।
विभागका अनुसार तिनाउ नदी माथि चार लेनको आकर्षक पुल बनाउन लागिएको हो । विभागले यसअघि नै उक्त पुलको विस्तृत अध्ययन र डिजाइन (आर्किटेक्ट/स्ट्रक्चर) डिजाइनको नमूना समेत तयार पारिसकेको छ ।
तिनाउ पुलको लम्बाइ करिब २४० मिटरसम्म हुनेछ । नयाँ पुल अहिले भएको पुलको छेउमा बनाइने छ । यस पुलको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
सरकारले चालु आवको बजेटमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण अघि बढाइने घोषणा गरेको थियो । नारायणी पुलको भने ठेक्का लागि निर्माणको काम समेत सुरू भइसेको छ ।


