भारत भ्रमणमा आउँदा पुटिन चढ्ने ल्याएको कार, के छ खास ?

काठमाडौं । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले भारतको राजकीय भ्रमणमा छन् । पुटिन दुई देश बीच हुने शिखर सम्मेलनमा भाग लिन भारत आएका हुन् । उनको भ्रमणलाई विश्वका महाशक्ति राष्टहरूले समेत महत्वका साथ नियालिरहेका छन् ।

पुटिनलाई विमानस्थलमा स्वागत गर्न भारतीय प्रधानमन्त्री मोदी आफैं गएका थिए । विमानस्थलबाट पुटिन मोदीकै गाडीमा चढेर होटल गए थिए, जुन विषय अहिले चर्चामा छ ।

भारतीय प्रधानमन्त्री मोदी सधैं बीएमडब्लू, रेन्जरोभर जस्ता युरोपिन ब्राण्डका गाडी चढ्छन् । तर, पुटिनलाई खुसी पार्न भारतमै बनेको जापानी ब्राण्ड टोयोटा फर्चुनर लिएर स्वागत गर्न पुगेका थिए ।

पुटिन युरोपियन ब्राण्डका गाडी चढ्दैनन् । किनभने विगतदेखि नै युरोपियन देशहरूसँग रसियाको सम्बन्ध सुमधुर छैन । पछिल्लो समय त झन् युरोपेली देशहरूले नाकाबन्दी नै लगाएका छन् । यिनै कारण उनले युेरोपेली ब्राण्ड बहिष्कार गर्दै आफ्नै देशमा बनेको गाडी चढ्छन् ।

होटलसम्म मोदीको गाडी गए पनि भ्रमणका क्रममा पुटिनले आफ्नै गाडी प्रयोग गरेका छन् । उनले रसियाबाट आफ्नो गाडी सँगै लिएरका आएका छन् ।

यस्तो छ पुटिनको कार

पुटिनले चढ्ने कार हो रसियामै बनेको लेमोजिन औरस सेनाट । यसलाई रसियन रोल्स रोयल्स पनि भनिन्छ । सन् २०१८ देखि पुटिनले यो कार प्रयोग गर्दै आएका छन् । फोट्रेस अन ह्वीलको नामले समेत चिनिने यो कार औरस मोटर्सले बनाएको हो ।

कोर्टेज परियोजना अन्तर्गत आउने घरेलु कारको डिजाइन १९४५ मा प्रस्तुत गरिएको सोभियत युगको पुरानो लिमोजिन जेडआइएस ११० बाट प्रेरित छ।

यो कारको सिभिल भर्सनको स्ट्याण्डर्ड एडिसनको मूल्य ४ करोड रुपैयाँभन्दा धेरै पर्छ । तर, राष्ट्रपति पुटिनले चढ्ने हाइटेक सेफ्टी मोडिफिकेसन गरिएको मोडलको भने करिब १० करोड रुपैयाँ पर्नेछ ।

यो कारमा ४.४ लिटरको भी ८ इन्जिन रहेको छ । जसले ५९८ हर्सपावर र ८८० न्युटन मिटरको टर्क जेनेरेट गर्छ । ९ स्पीडको अटोमेटिक गियरबक्स रहेको यो कारको टपस्पीड २५० किलोमिटर प्रतिघण्टा छ । यो कारले मात्र ६ सेकेण्डमा शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन सक्छ ।

सन् २०२४ मा औरस सेनाटमा मस्कुलर रसियन लुक्स सहितको आक्रामक फेसलिफ्ट भएको थियो । रेट्रो कम मोर्डन लुक्स रहेको औरस सेनाट विश्वको सबैभन्दा सुरक्षित कार मानिन्छ । यो कारमा भीआर १० ब्यालेस्टिक सिल्ड रहेको छ । जसले ठूलो ब्लास्ट र केमिकल अट्याकबाट समेत बचाउँछ ।

औरस सेनाटमा रन फ्ल्याट टायर, ६ सेन्टिमिटर बाक्लो सिसा, आगो निभाउने सिस्टम र आफ्नै अक्सिजन सप्लाइ रहेको छ । यो कार पानीमा समेत तैरिने र सुरक्षित स्थानमा नपुगेसम्म संचालनमै रहने बताइएको छ ।

पुटिनको अलावा यो कार नर्थ कोरियाका नेता किम जोङ उन, तुर्कमिस्थानका राष्ट्रपति गुरबाङ्गुली बर्दीमुहामेदो र बहराइनका राजा हमादसँग पनि छ ।


Back_to_top