नयाँ सस्पेन्सनमा आयो बजाज पल्सर एन १६०

काठमाडौं । भारतीय मोटरसाइकल निर्माता बजाजले पल्सर एन १६० मोटरसाइकलको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा एन १६० सिरिजको मोटरसाइकलमा अगाडिको सस्पेन्सन र सिट परिवर्तन गरेर नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

बजाजले बजारमा उपलब्ध गराएको नयाँ बजाज एन १६० भेरियन्टमा अगाडिको सस्पेन्सनमा गोल्डेन कलरको यू एसडी फोर्क र सिंगल पिस सिट दिएको छ । कम्पनीले यस मोटरसाइकललाई सिंगल पिस सिट यूएसडी फोर्क भेरियन्टका रूपमा बजारमा ल्याएको हो ।

कम्पनीले भारतीय बजारमा नयाँ भेरियन्टको मूल्य १ लाख २४ हजार भारतीय रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । मोटरसाइकल पर्ल मेटालिक ह्वाइट, रेसिङ रेड, पोलर स्काई ब्लू र कालो गरी चार कलर अप्सनमा आएको छ ।

यी दुई पार्ट र नयाँ कलर अप्सन बाहेक मोटरसाइकलमा अन्य केहि मेकानिकल परिमार्जनहरू भएको छैन । एन १६० मा १६४.८२ सीसीको, सिंगल सिलिण्डर, आयल कुल्ड इन्जिन छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

त्यस्तै, यसमा पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर एलईडी हेडल्याम्प तथा डीआरएल, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, यूएसबी पोर्ट, अलोय ह्वील, ट्युबलेस टायर, डबल पिस्टन डिस्क ब्रेक र डबल च्यानल एबीएस जस्ता फिचरहरू छन् ।


Back_to_top