मोटर बीमा गर्ने सवारीधनीको रोजाइमा कुन कम्पनी ? तथ्यांकले यस्तो देखाउँछ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन-कात्तिक)मा ६ लाख बढीले मोटर बीमा गराएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको कात्तिक मसान्तसम्म १८ कम्पनी (१४ निर्जीवन र ४ लघु निर्जीवन बीमा)ले कुल ६ लाख ५ हजार ८८० वटा मोटर बीमालेख बिक्री गरेका छन् ।

जसमा १४ निर्जीवन बीमा कम्पनीले ५ लाख ६ हजार १३७ वटा र ४ लघु निज बीमा कम्पनीले ९९ हजार ७४३ वटा पोलिसी बिक्री गरेका छन् ।

कम्पनीहरूले मोटर बीमाबापत कुल ५ अर्ब ७० करोड ५८ लाख ३३ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा करिब एकतिहाई रहेको छ ।

गत वर्षको तुलनामा चालु आवमा मोटर बीमा गराउनेको संख्या ३ प्रतिशतले बढेको छ । मुख्यगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मोटर बीमा गराउनेको संख्या बढेको देखिन्छ ।

आन्दोलनका क्रममा ६ हजार बढी (एकीन तथ्यांक आइसकेको छैन) सार्वजनिक र निजी सवारी जलेर खरानी भएका थिए । तर, सबै सवारीको बीमा नहुँदा २२९० वटाले मात्र क्षतिपूर्ति दाबी गरेका छन् । आन्दोलनका कारण ठूलो क्षति व्यहोर्नुपरेपछि सवारीधनी सचेत भई बीमा गराउन थालेको बीमकहरू बताउँछन् ।

सवारीधनीले आफ्नो सवारी साधनको सुरक्षणका लागि मोटर बीमा गर्छन् । सवारी साधन चलाउने क्रममा हुने सडक दुर्घटना, चोरी, हुलदंगा, बाढी, पहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिबाट बच्न मोटर बीमा गरिन्छ ।

बीमा कम्पनीहरूले कम्प्रिहेन्सिभ र थर्ड पार्टी मोटर बीमा गर्दै आएका छन् । सवारी साधनले तेस्रो पक्षलाई पुर्याउने हानी नोक्सानीबाट बच्न थर्ड पार्टी पनि मोटर बीमा गर्छन् । यो सवारी नवीकरण गर्नका लागि अनिवार्य छ ।

कम्प्रिहेन्सिभ मोटर बीमा भने स्वेच्छिक छ । सवारीधनीले आफ्नो इच्छा अनुसार गराउन सक्छन् । यद्यपि, किस्ताबन्दीमा किन्ने सवारी साधनमा भने कम्प्रिहेन्सिभ बीमा अनिवार्य छ ।यो बीमा गर्दा सवारीमा साधनमा कुनै पनि हानी पुगेमा क्षतिपूर्ति पाइन्छ ।

कुन कम्पनी रोजाइमा ?

सवारीधनीले यस अवधिमा १८ वटै कम्पनीमा मोटर बीमा गरेका छन् । जसमध्ये धेरै पोलिसी बिक्री गर्नेमा ठूला कम्पनीहरू नै अगाडि देखिएका छन् ।

चालु आवको ४ महिनामा सवारीधनीले सबैभन्दा धेरै मोटर बीमा हिमालयन एभरेष्ट इन्स्योरेन्समा गरेका छन् । प्राधिकरणका अनुसार कात्तिकसम्म हिमालयनले ७६ हजार ३७९ वटा मोटर बीमा पोलिसी बिक्री गरेको छ । यसबापत कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यसैगरी, ४ महिनामा शिखर इन्स्योरेन्सले ५४ हजार ३३४, नेकोले ५३ हजार १२२, सिद्धार्थ प्रिमियरले ५० हजार ५, सगरमाथा लुम्बिनीले ४६ हजार ३००, एनएलजी इन्स्योरेन्सले ४२ हजार ८४५ वटा मोटर बीमालेख जारी गरेको छ ।

त्यसैगरी, नेपाल इन्स्योरेन्सले ४२ हजार ४३, आइजीआइ प्रडेयन्सियलले ३८ हजार ६३१, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २९ हजार ८१७, स्टार माइक्रो इन्स्योरेन्सले २६ हजार ९३८, प्रभु इन्स्योरेन्सले २६ हजार २८२, नेपाल माइक्रो इन्स्योरेन्सले २४ हजार ५९४, सानिमा जीआइसी २० हजार ८२६ वटा र ट्रष्ट माइक्रो इन्स्योरेन्सले १८ हजार ३९४ वटा मोटर बीमा पोलिसी बिक्री गरेका छन् ।

४ महिनामा ३ कम्पनीले भने ६ हजारभन्दा कम मोटर बीस्मा पोलिसी जारी गरेका छन् । जसमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम २ हजार ५३७ वटा मात्रै मोटर बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५ हजार ६७४ र विदेशी स्वामित्वको दी ओरेन्टल इन्स्योरेन्सले ५ हजार ११६ वटा मोटर बीमालेख जारी गरेको छ ।


Back_to_top