काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत बेनी-जोमसोम-कोरला सडकखण्डमा हालसम्म बेलिब्रिज सहित १९ वटा पुल निर्माण सम्पन्न भएका छन् ।
आयोजना अन्तर्गत हालसम्ममा १३ वटा पक्की पुल र ६ वटा बेलिब्रिज निर्माण सम्पन्न भएका हुन् । भारत र चीन जोड्ने यो सडक आर्थिक वर्ष २०७३/७४ सालदेखि सुरू भएको थियो ।
बेनी-जोमसोम-कोरला सडकखण्डमा गत वर्षसम्म १३ पक्की पुल सम्पन्न भई हस्तान्तरण भइसकेको आयोजनाले जनाएको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले मुस्ताङ खण्डको थासाङ-३ स्थित लेतेखोला, सेतोखोला पुल, थासाङ-२ स्थित छाक्ताङ खोला, घरपझोङ-२ स्थित मार्फाखोला पुल निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको जानकारी दिए ।
त्यस्तै, मुस्ताङकै घरपझोङ-३ स्थित स्याङखोला पुल, पान्डाखोला पुल, वारागुङ-३ स्थित छुसाङ नरसिंह खोला, लोघेकर-१ स्थित चराङखोला, माथिल्लो मुस्ताङको लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्माखोला पुल निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको छ ।
त्यसैगरी, हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टेखोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेको जनाएको छ।
आयोजनाले कोरला सडकमा ६ वटा बेलिब्रिज निर्माण गरेको जनाएको छ । आयोजनाका अनुसार म्याग्दीको बेनीस्थित कालीपुल, तातोपानी, रुप्से, कागबेनी खोला, थासाङ-२ घट्टेखोला र थासाङ-१ टुकुचेस्थित थापाखोलामा बेलिब्रिज निर्माण गरेको हो ।
त्यसैगरी, कोरला सडक आयोजनाले कार्यान्यवन गरेका बाहेक पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म आठवटा पक्की पुल निर्माण भइसकेको छ। पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयबाट कार्यान्वयन भई निर्माण तथा मर्मतसम्भार भएका आठ पुल सम्पन्न भएका हुन्।
जसअन्तर्गत आयोजनाबाहेक निर्माण भएका पर्वतको दमुवाखोला, लस्तीखोला, मिलनचोक खोला र म्याग्दीको बेनीस्थित कालीगण्डकी खोला, बेगखोला, कालीगण्डकीस्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला पुल निर्माण भएका हुन्।
त्यसैगरी, मुस्ताङ खण्डको जोमसोमस्थित कालीगण्डकी खोला पुल यसअघि नै सम्पन्न भइसकेका छन्। यहाँको जोमसोमस्थित पक्की पुल भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो।
थप ३ पुल निर्माण अन्तिम चरणमा
बेनी-जोमसोम-कोरला सडकमा थप तीन पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना कार्यालय अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन थासाङ-४ स्थित कैकुखोला, थासाङ-२ स्थित लार्जुङखोला र लोघेकर दामोदरकुण्ड-२ स्थित घमीखोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका इन्जिनियर चापागाईँले बताए।
यहाँ निर्माणाधीन तीनवटै पुलको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेकाले चालु आवभित्र आयोजना कार्यालयलाई हस्तान्तरण भइसक्ने उनको भनाइ छ। निर्माणाधीन रहेका तीन पुलको फाउण्डेसन र स्ल्याप ढलान भइसकेको र एप्रोज सडकसहित पुल फिनिसिङलगायतका कार्य बाँकी रहेको उनले बताए।
३ पुलको ठेक्का तोडियो
आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणाधीन अवस्थामा रहेका तीन पुलको ठेक्का सम्झौता तोडिएको आयोजनाले जनाएको छ ।
इन्जिनियर चापागाईँका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्सेखोला, थासाङ गाउँपालिका-४ स्थित खहरेखोला र वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गरे। यी तीनै पुल निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद्लगायत कारणले ठेक्का सम्झौता तोडिएको हो ।

