काठमाडौंको जाम कम गर्न तीन करिडोर सञ्चालन

काठमाडौं । काठमाडौंमा सवारीको चाप बढेपछि खोला करिडोरहरु सञ्चालनमा ल्याउने योजना अनुरुप करिडोर निर्माण भएका हुन् । करिडोर बनेपछि ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजना अन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो ।

करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनेछ । साथै करिडोरबाट सवारी पठाउँदा दुर्घटनामा समेत कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए ।

गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महीने कार्ययोजना बनाएर काम सुरु गरेको थियो । 

महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ ।

यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाभित्रको ट्राफिक सुधारका लागि कार्ययोजना महत्वपूर्ण भएको बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र करिब १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।


Back_to_top