एक सातापछि खुल्यो तातोपानी नाका

काठमाडौं । स्थानीयको अवरोधका कारण ८ दिनदेखि बन्द तातोपानी नाका संचालनमा आएको छ ।

भोटेकोशी गाउँपालिका-२ का स्थानीय र सडक डिभिजन कार्यालय चरिकोट बीच २ महिनाभित्र पहिरो नियन्त्रणको काम सुरु गर्ने सहमतिपछि शनिबारदेखि अरनिको राजमार्ग खुलेको हो ।

स्थानीयले कोदारीस्थित ‘इको’ पहिरोका कारण बस्ती जोखिममा परेको भन्दै मंसिर २० गतेदेखि सडक अवरुद्ध गर्दै आएका थिए ।

चीनबाट सामान आउने मुख्य सडक बन्द भएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बिहीबार र शुक्रबार स्थानीयसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । वार्ता सहमतिमा टुंगिएपछि शनिबारदेखि सडक खुलेको हो ।

सडक अवरोध हटेपछि खासामा रोकिएका मालबाहक कन्टेनर धमाधम आउन थालेका छन् । एक साता सडक बन्द हुँदा दर्जनौं कन्टेनर र विद्युतीय गाडी खासामा रोकिएका थिए । लसुन र फलफूल कन्टेनरमै कुहिन थालेको थियो ।

मालसामान आएसँगै आजैदेखि जाँचपास प्रक्रिया सुरू हुने तातोपानी भन्सार कार्यालयले जनाएको ।

इको पहिरो नियन्त्रणका लागि अर्थ मन्त्रालयबाट ४८ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्रोत सुनिश्चित भई ठेक्का आह्वानसमेत भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


Back_to_top