काठमाडौं । विद्युतीय दुईपाङ्ग्रे सवारी साधन (स्कुटर/मोपेड/मोटरसाइकल)को आयातमा उछाल आएको छ । विद्युतीय कारको बजार चम्किरहँदा सुस्त रहेको दुईपाँग्रे ईभी आयात सन् २०२५ मा भने उल्लेख्य वृद्धि भएको हो ।
सन् २०२५ मा दुईपाङ्ग्रे ईभी आयात ३२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२४ मा ५ हजार १७२ युनिट दुईपाङ्ग्रे इलेक्ट्रीक साधन आयात भएकोमा २०२५ मा ६ हजार ८५२ युनिट आयात भएको हो । यसलाई निकै राम्रो वृद्धि मान्न सकिन्छ ।
चालु वर्षमा सबैभन्दा धेरै दुईपाङ्ग्रे स्कुटर र मोपेड आयात भएको छ । केही युनिट मात्रै मोटरसाइकल आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । सन् २०२५ मा केबल १८ युनिट इलेक्ट्रीक मोटरसाइकल मात्रै आयात भएको हो ।
अहिले बजारमा ३ दर्जन हाराहारी ब्राण्डका दुईपाङ्ग्रे साधन आइरहेका छन् । ब्राण्ड धेरै भए पनि संख्यात्मक रूपमा आयात गर्ने कम्पनीहरु अत्यन्त न्यून छन् । १०० युनिटभन्दा माथि आयात गर्ने एक दर्जन ब्राण्ड मात्रै छन् ।
यी हुन् टप ५ ब्राण्ड
सबैभन्दा धेरै इलेक्ट्रीक दुई पाङ्ग्रे आयात गर्ने कम्पनी याडिया भएको छ । चिनियाँ ब्राण्डले एक वर्षको अवधिमा १ हजार ३ युनिट स्कुटर र मोटरसाइकल आयात गरेको छ ।
याडियाका उत्पादन बिक्री बितरण गर्दै आएको कुजु नेपाल प्रालिले २ युनिट मोटरसाइकल आयात गरेको थियो । बाँकी सबै इलेक्ट्रीक स्कुटर आयत गर्दै पहिलो स्थान कब्जा गरेको हो ।
धेरै इलेक्ट्रीक स्कुटर आयात गर्ने ब्राण्डको सूचीमा टीभीएस दोस्रो भएको छ । टीभीएसले आफ्नो इलेक्ट्रीक स्कुटरको आयात दोब्बरले बढाएको छ । सन् २०२४ मा ४४१ युनिट आइक्यूब स्कुटर ल्याएको जगदम्बा मोटर्सले सन् २०२५ मा ८८१ युनिट आयात गरेको हो ।
भारतीय ब्राण्ड एथरको आयात ८३७ युनिट छ । कम्पनीले आफ्नो बिक्रीलाई सन् २०२४ कै जस्तो अवस्थामा राखेको देखिन्छ । अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको एथर ४४ युनिट कम आयात हुँदा यस वर्ष तेस्रो स्थानमा झरेको हो । एथर ब्राण्डमा ४५० सिरिज र रिज्टा नामक स्कुटर बिक्री हुँदै आएको छ । एथरका स्कुटरहरु वैद्य्ज इनर्जीले बिक्री वितरण गर्दै आएको छ ।
त्यसैगरी, चौथो स्थानमा इलेक्ट्रीक मोपेड आयात गर्ने कम्पनी परेको छ । ग्रीन पावर नामक कम्पनीको इलेक्ट्रीक प्याडल सहितको स्कुटर सन् २०२५ मा ७०० युनिट आयात भएको देखिन्छ । उक्त मोपेड नेपालका तराई क्षेत्रमा धेरै बिक्री हुन्छन् ।
नेपालकै ठूलो मध्येको एक दुईपाङ्ग्रे ब्राण्ड बजाजले बजारमा ल्याएको चेतक इलेक्ट्रीक स्कुटर धेरै आयात हुने मोडलको पाँचौं स्थान छ । बजाज मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले ४४० युनिट चेतक स्कुटर आयात गरेको देखिन्छ ।
अन्य धेरै आयात गर्ने कम्पनी
धेरै आयात गर्ने ५ बाहेकका अन्य कम्पनीले पनि राम्रो संख्यामा दुईपाङ्ग्रे इलेक्ट्रीक साधन ल्याएको देखिन्छ । जसमा ग्यारोले ४३९ युनिट, गोगोरो ३३६ युनिट र टेल्जीले २६२ युनिट आयात गरेको छ ।
अन्य ब्राण्डहरुमा लुयानले २०७ युनिट, काइसाइले १५४ युनिट र जिहोले १३२ युनिट इलेक्ट्रीक दुईपाङ्ग्रे साधन नेपाल भित्र्याएका छन् । तुलनात्मक रूपमा सन् २०२५ इलेक्ट्रीक दुईपाङ्ग्रेको लागि राम्रो देखिएको छ । तर, मोटरसाइकलको हकमा भने उत्साहपूर्ण देखिएको छैन ।

