यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, १४ जना पक्राउ

फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी बढेपछि प्रहरीले ‘स्विप अपरेसन’ गरी १४ जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय राधे राधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौं तथा यातायात ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरूबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले ती कार्यालयहरूमा बिचौलियाको काम गरी सेवाग्राहीहरूलाई दुःख हैरानी दिने, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरू समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गरेको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनहोरा-५ बस्ने ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची-१० बस्ने ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला-४ का ५० वर्षीय  दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरी-५ गुर्जुधाराका २९ वर्षीय रन्जित महर्जन, नवलपरासी बर्दघाट-११ का ३० वर्षीय अर्जुन चौधरी छन् ।

त्यस्तै, सिन्धुपाल्चोक साँगाचोकगढी-८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा-५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी-४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका-२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौं-८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा-६ का १९ वर्षीय दिवस लामा, सुनसरी ईटहरी-१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी-१ का ३७ वर्षीय सन्तोष स्याङ्तान र काभ्रेपलाञ्चोक पनौती-५ का ४० वर्षीय दिलिप खड्गी रहेका छन् ।

उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायातका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी पैसा लिने, लाइसेन्स प्रिन्ट तथा ब्लूबुकलगायत कागजात नवीकरण, मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको पाइएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।


Back_to_top