१७०४ किमी रेन्ज दिने एसयूभी ल्याउँदै एक्सपेङ

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनीले एक्सपेङले हालसम्मकै धेरै १७०४ किलोमिटर रेन्ज दिने एसयूभी बजारमा ल्याउने भएको छ ।

कम्पनीले सन् २०२६ को पहिलो त्रैमासमै सर्वाधिक रेन्ज दिने एक्सपेङ जी सेभेन ईआरईभी सार्वजनिक गर्ने भएको हो । जी सेभेन एक्सपेङ एक्स ९ एमपीभी र पी सेभेन प्लस सेडान पछिको तेस्रो ईआरईभी मोडेल हुनेछ ।

यो ईआरईभीको संयुक्त रेन्ज १७०४ किमी रहने कम्पनीको दाबी छ । जसमा प्योर इलेक्ट्रीक रेन्ज ४३० किमी (सीएलटीसी) हुनेछ ।

एक्सपेङले जी सेभेन ८०० भोल्ट प्लेटफर्ममा बनाएको हो । यसमा ५ सी फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्री छ । यसले केबल १२ मिनेटमै ३१४ किमी रेन्ज रिचार्ज गर्न सक्छ ।

जी सेभेनमा १.५ टी इन्जिन रहने छ । यसले अधिकतम ११० किलोवाट पावर दिन्छ । त्यस्तै, यसमा २१८ किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । यसमा ५५.८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० लिटरको इन्धन ट्यांकी हुनेछ।

कम्पनीले ईआरईभी जी सेभेनको बाहिरी डिजाइन बीईभी भेरियन्टको जस्तै डिजाइन कायम राख्नेछ । यसको कालो बाहिरी सिसा, लुकेको डोर ह्याण्डल र पछाडिको झ्यालमा प्राइभेसी सिसा राख्नेछ । यसको पछाडिको भागमा सी आकारको थ्रु टाइप टेललाइट क्लस्टर, टेलगेटको बीचमा एक्सपेङ ब्राण्डको लोगो र दायाँ पछाडिको फेन्डरमा चार्जिङ पोर्ट रहेको छ ।

ईआरईभी जी सेभेनको लम्बाइ ४९१८ एमएम, चौडाइ १९२५ र उचाइ १६५५ एमएम रहेको छ । यसमा २८९० एमएमको ह्वीलबेस छ ।

हाल नेपाली बजारमा एक्सपेङको जी सिक्स ईभी बिक्री हुँदै आएको छ ।


Back_to_top