काठमाडौं । पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक निर्माण सुस्त गतिमा अघि बढेको छ । विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो सडक १४ महिनामा १९ प्रतिशत मात्रै काम पूरा भएको हो ।
२०८१ असार ११ गते ठेक्का सम्झौता भई कात्तिक ४ गतेदेखि काम सुरू गरिएको थियो । लक्ष्य अनुसार हाल २५ प्रतिशत काम पूरा हुनुपर्नेमा केही पछाडि रहेको हो ।
बुटवल-गोरुसिंगे-चन्द्रौटा ६९ किलोमिटर सडकमध्ये हाल ५० किमीको ठेक्का लगाई काम भइरहेको छ । रुपन्देही (लट १) र कपिलवस्तु (लट २) २५/२५ किमी) विभाजन गरी ठेक्का लगाइएको छ ।
दुवै खण्डको ठेक्का शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड/आशिष निर्माण सेवा प्राली जेभीले पाएको छ । यसको कुल लागत १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपैयाँ रहेको छ ।
यो सडक सहरी क्षेत्रको १४ किमी ५० मिटर, अर्धसहरी क्षेत्रको १६ किमी ३७.४ मिटर र ग्रामीण क्षेत्रको २० किमी २४ मिटर फराकिलो बनाइँदै छ । यस सडकमा ३० वटा पुल, ११५ कल्भर्ट, ६ वटा सवारी अण्डरपास, १२ वटा पैदलयात्रु अण्डर पास, ११ वटा आकाशेपुल र १९ वटा एनिमल क्रसिङ निर्माण हुँदै छन् ।

ठेक्का सम्झौता अनुसार यो सडक ३ वर्ष भित्र निर्माण सम्पन्न हुनुपर्नेछ । सो अनुसार अब २२ महिनामा ८१ प्रतिशत काम सक्नु पर्नेछ । यद्यपि, हालको कामको गति हेर्दा समयमै सम्पनन हुनेमा शंका छ । निर्माण सकिएको ५ वर्षसम्म ठेकेदारले नै मर्मत गर्नुपर्नेछ ।
यस्तो छ प्रगति
यस सडकको हालसम्म समग्र भौतिक प्रगति १९ प्रतिशत रहेको छ । रुपन्देहीखण्डको १७.३५ र कपिलवस्तुखण्डको २१ प्रतिशत पुगेको आयोजनाका सूचना अधिकारी (इन्जिनीयर) अशोक पौडेलले जानकारी दिए । निर्माण सामग्रीको अभावले रुपन्देहीतर्फ अपेक्षित गति लिन नसकेको उनले बताए ।
उनका अनुसार हाल दुवै खण्डमा माटो फिलिङ, भित्तो कटान, टेवा पर्खाल, कल्भर्ट, पुल, अण्डरपास, एनिमल क्रसिङ निर्माणको काम भइरहेको छ । ‘यस सडकको भौतिक प्रगति लक्ष्यभन्दा केही पछाडि छ । तर, हिउँद लागेसँगै कामले तीव्रता पाएको छ । अहिले भित्तो कटान, वाल निर्माण, माटो फिलिङ, कल्भर्ट, पुल, अण्डरपास निर्माण लगायत काम सँगसँगै अघि बढेको छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार रुपन्देहीतर्फ ६७ कल्भर्टमध्ये ३७ वटाको काम भइरहेको उनले बताए । त्यस्तै, यसखण्डका २० पुलमध्ये १५ वटाको काम सुरू भएको छ । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसनको काम सकी स्ट्रक्चरको काम भइरहेको उनले बताए । जंगल क्षेत्रमा पर्ने दुई वटा एनिमल क्रसिंङको फाउन्डेसनको काम सकी मुख्य स्टक्चरको काम भइरहेको उनले जानकारी दिए । साथै, २५ किमीमध्ये ४ किमी क्षेत्रमा माटो फिलिङको काम चलिरहेको छ । यसखण्डको लागत ७ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
कपिलवस्तु खण्डको ६४ कल्भर्ट मध्ये ३० वटा, १६ वटा एनिमल क्रसिङमध्ये १४ वटाको काम भइरहेको उनले बताए । १० पुलमध्ये ८ वटाको काम सुरू भएको छ । पुलको फाउन्डेसनको काम सकी स्ट्रक्चरको काम सुरू भएको छ । यसखण्डको २५ मध्ये १३ किमी क्षेत्रमा माटो फिलिङ गर्ने काम चलिरहेकोे छ । यसखण्डको लागत ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँ रहेको छ ।
दैनिक १ हजार बढी जनशक्ति परिचालन
सडक निर्माणलाई तीव्रता दिन दैनिक १ हजार बढी जनशक्ति परिचालन गरिएको उनले बताए । दुवैखण्डमा दैनिक १ हजार बढी प्राविधिक र लेबर खटिएको उनले बताए ।

‘दुवै खण्डमा धमाधम काम भइरहेको छ । दुवैतर्फ गरी दैनिक १ हजार बढी जनशक्ति खटिएका छन् । आगमी दिनमा कामले झन् गति लिन्छ,’ उनले भने । यद्यपि, निर्माण सामग्री अभाव र विद्युत् पोल स्थानान्तरणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
यी ठाउँमा बन्दैछन् अण्डरपास
सवारी साधन निर्वाध आवतजावतका लागि बुटवल-गोरुसिंगेखण्डको ६ वटा अण्डरपास निर्माण हुँदैछ । रुपन्देहीको नयाँगाउँ, तामनगर, मुर्गे, बुद्धनगर, चारनम्बर र कपिलवस्तुको जितपुरमा अण्डरपास निर्माण हुने छन् ।
तीमध्ये रुपन्देहीतर्फ नयाँगाउँ, तामानगर र कपिलवस्तुको जितपुर चोकको निर्माण सुरू भइसकेको उनले बताए । ‘दुवैखण्डका ६ वटा मध्ये ३ वटा अण्डरपासको निर्माण सुरू भएको छ । अहिले फाउण्डेसको काम भइरहेको छ । अरूको पनि चाँडै काम सुरू गर्ने तयारी छ,’ उनले भने ।
जंगल क्षेत्रमा सवारी गुड्दा वन्यजन्तुलाई क्षति नहोस् र निर्वाध आवातजावत गर्न सकून भनेर १९ वटा अण्डरपास बनाइने छ । सोमध्ये सालझण्डी-पिपरा खण्डमा ४ वटा, बनगाई-गोरुसिंगे जंगलमा १० वटा र अन्य जैगल क्षेत्रमा ५ वटा अण्डरपास बनाइने उनले बताए । केही अण्डरपासको काम थालिसकिएको उनले बताए ।

त्यस्तै, पैदल यात्रीका लागि बेलबास, बमाहा बजार, रानी वनगाई चोक, सालझण्डी, पिपराह, वनगंगा, बुद्धभूमि लगायत स्थानमा ११ वटा आकाशे पुल निर्माण हुँदै छन् ।
साइट क्लियरेन्स गर्नै बाँकी
यस सडकको साइट क्लियरेन्सको काम भने बाँकी नै रहेको छ । सूचना अधिकारी पौडेलका अनुसार ७ हजार १७५ रुख कटान सकिए पनि घर टहरा र बिजुलीका पोल हटाउन बाँकी छ ।
उनका अनुसार दुवै खण्डमा गरी २१०० बिजुली पोल हटाउनुपर्नेमा हालसम्म ३०० वटा हटाइएको छ । त्यस्तै, रुपन्देहीतर्फ ६७ र कपिलवस्तुमा २८ वटा घरटहारा हटाइएको छ । रुपन्देहीतर्फ थप २२ वटा घरटहरा हटाउनुपर्ने भएकाले प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
‘सडक विस्तारको कामसँगै साइट क्लियरेन्स पनि भइरहेको छ । रुख कटान गत वर्ष सकिएको हो । अहिले घरटहरा र बिजुलीका पोल हटाउने काम भइरहेको छ,’ उनले भने ।

यस सडकमा काटिएको एउटा रुब बराबर १० विरुवा रोपिने उनले बताए । सो अनुसार करिब ७२ हजार विरुवा रापिने छ । रुख रोप्न र हुर्काउन मात्रै ४ करोड रुपैयाँ खर्च हुनेछ ।
तिनाउमा सिग्नेचर ब्रिज बनाउन टेन्डर आह्वान
बुटवल-गोरुसिंगे-चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न छुट्टै टेन्डर आह्वान गरिएको छ । तिनाउ माथि चार लेनको आकर्षक पुल निर्माणका लागि सडक विभागले गत मंसिर १९ गते बोलपत्र आह्वान गरेको हो ।
तिनाउ पुलको ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा लगाउन लागिएको होे । यसमा पुलको डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेक्का पाउने निर्माण कम्पनीले नै गर्नुपर्छ ।
तिनाउ पुलको लम्बाइ करिब २४० मिटरसम्म हुनेछ । नयाँ पुल अहिले भएको पुलको छेउमा बनाइने छ । यस पुलको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

