काठमाडौं । नेपालमा खुलेका दुईपाँग्रे सवारी एसेम्बल उद्योगले लामो समय बित्दा पनि भूल्य अभिवृद्धि (भ्यालु एड) गर्न सकेका छैनन् । सरकारबाट एसेम्बली उद्योगहरूले कर छुटसहित विभिन्न सहुलिय लिए पनि तोकिएको शर्त पूरा नगरेकाे पाइन्छ ।
उद्योग विभागले २०७८ कात्तिकमा मोटरसाइकल एसेम्बल गर्ने उद्योगका लागि ४ वटा शर्त तोकेको थियो । विभागले एसेम्बल प्लाण्टले पहिलो वर्ष १० प्रतिशत, ५ वर्षमा ३० प्रतिशत मूल्य अभिवृद्धि (भ्यालु एड) गर्नुपर्ने, पहिलो वर्ष कम्तीमा ५० जनालाई र ५ वर्षभित्र २०० जनालाई रोजगारी दिनुपर्ने, एसेम्बल भएको सवारी साधनमा कम्तीमा १० प्रतिशत नेपालमै बनेका सामान प्रयोग गर्नुपर्ने शर्त तोकिएको थियो ।
सो अनुसार हाल अधिकांश एसेम्बल प्लाण्टले नेपालमै उत्पादन भएको १० प्रतिशत सामान प्रयोग गर्नुपर्थ्यो । तर, अहिले अधिकांश प्लाण्टले स्वदेशमा उत्पादन भएका इन्जिन आयल (मोबिल), टायर, ब्याट्री, स्पेयर पार्टस प्रयोग गर्दैनन् । अधिकांश आयातित सामान प्रयोग गरिरहेका छन् ।
उनीहरूले आफ्नै लगानीमा इनसिलरी उद्योग नखोले पनि नेपालमै बनेका पाटर्स पनि अहिलेसम्म प्रयोग गरेका छैनन् । यसले एसेम्बल क्रमिक रूपमा पूर्ण उद्योगमा जाने सरकारी योजना अलपत्र परेको बुझ्न सकिन्छ ।
अहिलेसम्म एसेम्बल उद्योगहरूले ‘भ्यालु एड’मा ठोस काम गर्न सकेको देखिँदैन । उनीहरूले बिजुलीको प्रयोग र कामदार मात्रै लिँदै आएका छन् । त्यो बाहेक ‘ब्याकवार्ड इन्ट्रिग्रेसन’मा कुनै पनि उद्योगले ठोस काम थालेको पाइँदैन ।
पछिल्लो ५ वर्षयता नेपालमा मिड साइज मोटरसाइकलको माग बढ्दै गएको छ । २५० सीसीदेखि ४०० सीसी सेग्मेन्टमा मोटरसाइकलको प्रयोग बढ्नुमा नेपाल सरकारले दिएको कर छुट प्रमुख कारण हो ।
सरकारले नेपालमा एसेम्बल गरिने दुईपाँग्रेमा सहुलियत नीति लिएसँगै नेपालमा दुईपाँग्रे बिक्रेता कम्पनीहरू प्रायः जसो सबैले नेपालमै एसेम्बल गर्दै आएका छन् ।
सबैभन्दा पहिला बजाजले मोटरसाइकल एसेम्बल सुरू गरेको थियो । त्यसपछि टीभीएस, यामाहा, होन्डा, हिरो, सुजुकी, सीएफ मोटो लगायत ब्राण्डले अहिले नेपालमै एसेम्बल गर्दै आएका छन् ।
अर्को तिर मोटरसाइकलमा लाग्ने धेरै पाटर्स र कम्पोनेन्टहरूको उत्पादन सुरू भइसकेको छ । नेपालमै अहिले उच्च गुणस्तरीय कम्पोनेन्ट उत्पादन भइरहेको व्यवासायीहरू बताउँछन् ।
दुईपाँग्रे उद्योगहरूले अहिलेसम्म नेपालमा उत्पादन भएका कम्पोनेन्ट प्रयोग गर्न चासो नदेखाएको अन्य व्यवसायीको गुनासो छ । भिडोल लुब्रिकेन्ट उत्पादन गर्दै आएका दीपेन्द मिश्रा भन्छन्, ‘हामी नेपालमै उत्पादन भएको लुब्रिकेन्ट, ब्याट्री, टायर लगायत कम्पोनेन्ट दिन सक्षम छौं । तर, मोटरसाइकल एसेम्बल उद्योगले प्रयोग त गर्नु पर्यो नि ।’
मिश्राको लगानीमा युनाइडेट लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिमा प्लाण्ट स्थापना गरी भिडोल ब्राण्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरिरहेको छ ।
‘भिडोलले कम्युटर मोटरसाइकलदेखि पर्फमेन्स मोटरसाइकलसम्म प्रयोग हुने सिन्थेटिक÷सेमी सिन्थेटिक इन्जिन आयाल उत्पादन गरिरहेको छ । तर, गुणस्तरीय भए पनि एसेम्बल उद्योगले प्रयोग गर्न चासो दिँदैनन्’, मिश्राले मेरोअटोसँग भने ।
उनको कम्पनीले अहिले ब्रिटिश ब्राण्डको इन्जिन आयल, ग्रिज र ब्याट्री उत्पादन गर्दै आएको छ । चाँडै मोटरसाइकलमा प्रयोग हुने ब्रेक उत्पादनको काम थाल्ने तयारी भइरहेको मिश्राले बताए ।
‘हामीले ५० करोड लगानी गरेर काम गरिरहेका छौं । मोटरसाइकल एसेम्बल उद्योगले हाम्रा उत्पादन खरिद गर्ने हो धेरै स-साना उद्योग खुल्थे । सरकारले पनि आफैँले बनाएको नियम कार्यान्वयन गर्न नसकेको छैन,’ मिश्राले भने ।
एकातर्फ एसेम्बल प्लाण्टले तोकिएको कुनै शर्त पूरा गरेको पाइँदैन भने अर्कोतर्फ सरकारले शर्त पूरा भए/नभएको प्रभावकारी अनुगमन, मूल्यांकन समेत गर्न सकेको छैन । राज्यले व्यवसायीलाई प्रोत्साहन गर्न सहुलियत दिए पनि प्रतिफल भने पाउन सकेको देखिँदैन ।

