काठमाडौं । अत्यधिक चिसोका कारण राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर अन्तर्गत (बेनी-जोमसोम-कोरला) सडकको काम ठप्प भएको छ । चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोकिन पुगेको हो ।
हाल माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । अत्यधिक चिसो बढ्दा मजदुरुले काम गर्न नसक्ने भएपछि घर फर्किएका हुन् । पुस लागेदेखि नै अधिकांश आयोजनाको काम रोकिएको छ ।
पुसअगावै कोरला सडक अन्तर्गत मुस्ताङ खण्डमा पर्ने सडक तथा पुल निर्माणको काम स्थगित गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार हाल निर्माण उपकरणहरू थन्क्याएर राखिएको छ भने मजदुरहरू घर फर्किएका छन् ।
कोरला सडकअन्तर्गत कागबेनी-छुसाङ, कोवाङ-जोमसोम सडक तथा घमी खोला, लार्जुङ खोला र कैकु खोला पुल निर्माणको काम रोकिएको उनले बताए ।
चालु आवमा ठेक्का सम्झौता भएको (कागबेनी-छुसाङ) ९.८ किमी कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ । कागबेनी-छुसाङ सडक कालोपत्र गर्न आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
यसैगरी, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोमसम्मको १७ किलोमिटर सडक पनि चिसोका कारण अवरुद्ध हुन पुगेको छ ।
विसं २०७३र७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सडक निर्माण सुरु गरिएको भए पनि अझै काम सम्पन्न हुन सकेको छैन । अझै करिब ५ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ ।
त्यस्तै, आयोजना अन्तर्गत ४० मिटर लामो घमी खोला पुलको काम पनि चिसोका कारण रोकिएको आयोजनाले जनाएको छ । हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । यसको एप्रोज रोड र पुल फिनिसिङको काम बाँकी रहे पनि चिसोले काम रोकिएको आयोजना प्रमुख शर्माले बताए ।
यसैगरी, कोरला सडकअन्तर्गत थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल निर्माणको काम पनि चिसोले प्रभावित भएको छ ।
राष्ट्रिय गौरवको कोरला सडक खण्डअन्तर्गत मुस्ताङमा चिसोले प्रभावित बनेका पूर्वाधार निर्माणका काम चैत महिनापछि पुनः सुचारु हुने आयोजना प्रमुख शर्माको भनाइ छ ।
चिसोकै कारण मुस्ताङमा दर्जनौँ सघीय, प्रादेशिक कार्यालय र स्थानीय निकायका विकास योजना ठप्प भएका छन् । अधिकांश सरकारी कार्यालयका कर्मचारी पनि जिल्लामा बस्न छाडिसकेका छन् । माथिल्लो मुस्ताङ करिब मानविहीन बनेको छ ।

