डोङफेङको सोलिड स्टेट ब्याट्री माइनस ४० डिग्रीमा परीक्षण हुँदै

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङले आफ्नो नयाँ ३५० वाट आवर/केजी सोलिड स्टेट ब्याट्री जडित कार अत्यधिक चिसो मौसममा परीक्षण गर्ने भएको छ ।

कम्पनीले उक्त कारलाई परीक्षण गर्न चीनको अत्यिधिक चिसो हुने उत्तरी क्षेत्र मोहे पठाएको हो ।

उक्त चिसो स्थानमा सोलिड स्टेट ब्याट्रीको क्षमता, चार्जिङ र स्थायित्व जाँच गरिने कम्पनीले जनाएको छ । परीक्षणका क्रममा माइनस ४० डिग्री सेन्टिग्रेडदेखि माइनस ३० डिग्री सेन्टिग्रेड सम्मको तापक्रममा विभिन्न सुरक्षा र कार्य क्षमता जाँच गरिने छ ।

उक्त चिसोमा पनि यो ब्याट्रीले करिब ७२ प्रतिशत इनर्जी कायम राख्ने छ । यो ब्याट्रीले यसअघि १७० डिग्री सेन्टिग्रेड तापक्रम परीक्षण सफलतापूर्वक पास गरेको छ।

कम्पनीका अनुसार यो ब्याट्रीले एकपटकको फूल चार्जमा १ हजार किलोमिटरभन्दा बढी रेन्ज दिनेछ । नयाँ प्रविधि प्रयोग गरिएको यस ब्याट्रीले परम्परागत लिथियम ब्याट्रीभन्दा अझ सुरक्षित र चिसो मौसममा राम्रो काम गर्ने अपेक्षा गरिएको छ।

डोङफेङले ब्याट्री विकासदेखि परीक्षण र पाइलट उत्पादनसम्मको आफ्नै प्लेटफर्म बनाएको छ । कम्पनीले यस क्षेत्रमा १८० भन्दा बढी पेटेन्टका लागि आवेदन दिएको छ। भविष्यमा २४० वाट आवर/केजीदेखि ५०० वाट आवर/केजीसम्म क्षमताका ब्याट्रीहरू उत्पादन गर्ने कम्पनीको योजना छ ।

डोङफेङले २०२५ नोभेम्बरमा सिचुआनमा भएको विश्व पावर ब्याट्री सम्मेलनमा आफ्नो नयाँ सोलिड स्टेट ब्याट्री र नयाँ ईभी सार्वजनिक गरेको थियो । कम्पनीले पहिले नै ०.२ गेगावाट आवरको पाइलट उत्पादन लाइन संचालनमा ल्याइसकेको छ । कम्पनीले सन् २०२६ सेप्टेम्बरदेखि ठूलो मात्रामा सोलिड स्टेट ब्याट्री उत्पादन सुरू गर्ने योजना छ । यी ब्याट्रीहरूको चार्जिङ क्षमता १ सी रहेको छ ।


Back_to_top