बढ्यो पेट्रोलियम पद्धार्थको खपत, ६ महिनामै १.२८ खर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन-पुस)मा पेट्रोलियम पद्धार्थको खपत बढेको छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको खपत औसतमा ३.८ प्रतिशतले बढेको हो ।

पछिल्लो समय क्रमशः आर्थिक गतिविधि बढ्न थालेसँगै पेट्रोलियम पद्धार्थको खपत पनि बढ्न थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवमा डिजेल खपत सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ ।

गत आवको ६ महिनामा कुल ६ लाख १० हजार ९४३ किलोलिटर डिजेल आयात भएकोमा चालु आवमा ६ लाख ३० हजार २५६ किलोलिटर आयात भएको छ । गत वर्षको सोही अवधिमा चालु आवमा १९ हजार ३१४ किलोलिटर धेरै डिजेल आयात भएको छ ।

त्यसैगरी, समीक्षा अवधिमा पेट्रोलको खपत २.१० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा ३ लाख ७२ हजार ४०९ किलोलिटर पेट्रोल आयात भएकोमा चालु आवमा बढेर ३ लाख ८० हजार २३५ किलोलिटर पुगेको छ । चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा ७ हजार ८२६ किलोलिटर धेरै पेट्रोल आयात भएको हो ।

त्यसैगरी, चालु आवमा गत वर्षमा खाना पकाउने एलपी ग्यासको आयात पनि ३.५२ प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा २६ करोड ५४ लाख ५७ हजार किलो एलपी ग्यास आयात भएकोमा चालु वर्षको सोही अवधिमा २७ करोड ४८ लाख ५ हजार किलो आयात भएको छ । समीक्षा अवधिमा आवको तुलनामा गत आवमा ९३ लाख ४७ हजार किलो धेरै ग्यास आयात भएको छ ।

त्यस्तै, चालु आवमा हवाई इन्धनको खपत ३.५४ प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा १ लाख ३ हजार ८२९ किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु वर्षको सोही अवधिमा १ लाख ७ हजार ५०७ किलोलिटर आयात भएको छ । समीक्षा अवधिमा हवाई इन्धन आयाता ३ हजार ६७८ किलोलिटर बढेको हो ।

चालु आवमा मट्टीतेल आयातमा भने उच्च गिरावट आएको छ । गत वर्ष ६ महिनामा ६ हजार ५३२ किलोलिटर मट्टीतेल आयात भएकोमा यस वर्ष ३७.१७ प्रतिशतले घटेर ४ हजार १०४ किलोलिटरमा सीमित भएको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुन थालेकाले इन्धनको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । साथै, अहिले चुनावी माहोल सुरू भइसकेकाले आगामी दिनमा इन्धन खपत झनै बढ्ने निगमले जनाएको छ ।

निर्माण गतिविधि बढ्न थालेकाले सिमेन्ट, डण्डी लगायत उद्योग संचालन डिजेलको खपत बढेको हो । त्यस्तै, विकास आयोजनामा स्काभेटर, ट्रिपर लगायत उपकरण प्रयोग बढ्न थालेकाले डिजेलको खपत बढेको हो ।

त्यस्तै, पर्यटकीय क्षेत्र चलायमान हुँदा र आममानिसको गतिविधि बढ्दा पेट्रोलको पनि खपत बढेको हो । पछिल्लो समय पर्यटन व्यवसाय गुल्जार हुँदा खाना पकाउने ग्यासको खपत बढेको हो । पर्यटकीय गतिविधि बढ्दा होटल तथा रेष्टुरेन्टहरू पूर्ण क्षमतामा संचालन हुन थालेका छन् । पछिल्लो समय इन्डक्सन चुल्होको प्रयोग बढे पनि होटलमा ग्यासको प्रयोग बढ्दा खपत बढेको हो ।

सरकारलाई पनि फाइदा

चालु आवमा पेट्रोलियम पद्धार्थको खपत बढ्दा सरकारलाई पनि फाइदा भएको छ । आयात बढेकाले सरकारले पाउने राजस्व पनि बढेको हो ।

समीक्षा अवधिमा सरकारले पेट्रोलियम पद्धार्थ आयात बापत १ अर्ब २ करोड ९५ लाख रुपैयाँ धेरै राजस्व पाएको छ । गत वर्ष पुससम्म पेट्रोलियम पद्धार्थ आयात बापत सरकारले ५२ अर्ब ५५ करोड रुपैयाँ राजस्व पाएको थियो भने चालु आवको सोही अवधिमा ५३ अर्ब ५८ करोड रुपैयाँ राजस्व पाएको छ ।

चालु आवमा डिजेल आयातबाट सबैभन्दा धेरै २५ अर्ब ३१ करोड, पेट्रोलबाट २१ अर्ब ५७ करोड, हवाई इन्धनबाट १ अर्ब ५४ करोड र खाना पकाउने एलपी ग्यासबाट ५ अर्ब ४ करोड राजस्व असुली गरेको छ ।

चालु आवको ६ महिनामा कुल १ खर्ब २८ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात भएको विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा १ खर्ब २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो ।


Back_to_top