एसियन हाइवेको प्रगति सुस्त, २० किमी एकतर्फी कालोपत्र

काठमाडौं । सडक संजालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माण सुस्त रहेको छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा ३ वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको काँकडभिट्टा-लौकही सडकको २ वर्षमा समग्र भौतिक प्रगति ३५ प्रतिशत मात्र पुगेको हो । लक्ष्य अनुसार हालसम्म ६० प्रतिशत बढी काम सम्पन्न भइसक्नुपर्नेमा करिब एकतिहाई मात्र पूरा भएको हो । अब १ वर्षमा ६५ प्रतिशत काम सम्पन्न गर्नुपर्नेछ । जुन असम्भव जस्तै देखिन्छ ।

काँकरभिट्टा-लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । ९५.७६ किमी सडकलाई काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमी (पूर्वीखण्ड) र सीतापुरबाट इटहरीसम्म ५०.६ किमी (पश्चिमखण्ड)मा विभाजन गरिएको छ । दुईखण्डलाई पनि ५ प्याकेजमा ठेक्का लगाइएको छ । इटहरीदेखि लौकहीसम्मको २४.२४ किमी सडक भने ठेक्का लाग्न बाँकी छ ।

ठेक्का लागेको खण्डमा मात्रै साना र ठूला गरी ४८ वटा पुल र १० वटा ओभरपास निर्माण हुने छन् । आयोजना पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको बताए।

उनका अनुसार यसखण्डमा अहिले कालोपत्र गर्ने, बेसरसबबेस राख्ने, कल्भर्ट, वाल लगाउने, माटो भर्ने, पुल निर्माण गर्ने लगायत काम भइरहेको छ ।

निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए। पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको उनले बताए । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

त्यस्तै, आयोजना अन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले झापाको पाडाजुुगीबाट पश्चिम सडक पहिलो चरणको एकलेन कालोपत्र सुरु भएको बताए । उनले यस खण्डमा करिब ४० प्रतिशत काम पूरा भएको बताए ।

हालसम्म दुवैखण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको आयोजनाले जनाएको छ ।

कार्यालयका अनुुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सडक निर्माण काम सुरू भएको हो।

यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ। बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ।


Back_to_top