कम मूल्य र फिचर लोडेड गाडीको कारण चम्किँदै नामी

काठमाडौं । चिनियाँ ब्राण्ड नामी नेपाली बजारमा सफल हुँदै गएको ब्राण्डमा पर्छ । कम मूल्य, आकर्षक डिजाइन र फिचर लोडेड मोडलहरुको कारण नै नामीले सफलता चुम्दै गएको हो ।

नेपाली बजारमा सवारी साधन बिक्री गर्ने मध्येको एक पुरानो कम्पनी एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले बिक्री गर्ने नामी ब्राण्डमा अहिले दुई मोडल उपलब्ध छन् । डोङफेङ मोटर ग्रुपको न्यू इनर्जी ब्राण्ड नामीको पहिलो मोडल नामी बक्स ह्याचव्याक नेपालमा सफल भइसकेको मोडल हो ।

सन् २०२४ को सेप्टेम्बरमा नेपाल आएको नामी बक्स (नामी–०१) अहिलेसम्म ९३० युनिट आयात भइसकेको छ । जनवरी २०२६ को दुई सातामा थप २६ युनिटसहित अहिलेसम्म ९५६ युनिट नामी बक्स नेपाल आएको देखिन्छ । सडकमा पनि बलियो उपस्थिति कायम गरिसकेको नामी बक्सको सफलताले नै यसलाई बजारमा चिनाएको हो ।

एमएडब्लू वृद्धिले आफ्नो दोस्रो मोडलको रुपमा नामी भिगो बजारमा ल्याएको छ । सन् २०२५ सेप्टेम्बरमा सार्वजनिक भएको भिगो मोडलको आयात पनि अहिले राम्रो देखिएको छ । कम्पनीले जनवरी १५ तारिखसम्ममा २४७ युनिट भिगो नेपाल ल्याइसकेको छ ।

मूल्य र डिजाइनले चर्चा पाएको सजिलै मान्न सकिने नामीको सबैभन्दा महंगो मोडलकै मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ । यसको सबैभन्दा सस्तो भेरियन्ट ३० लाख २४ हजारमै किन्न पाइन्छ ।

नामी बक्स ईभीमा ३१.४५ र ४२.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा मोटर अप्सन पनि दुई वटा पाउन सकिन्छ । जसमा ५० र ७० किलोवाट छन् ।

नामी भिगो पनि दुई ब्याट्री अप्सनमा उपलब्ध छ । यसको ई भेरियन्टमा ४४.९४ किलोवाट आवर र ई प्लस भेरियन्टमा ५१.८७ किलोवाट आवरको ब्याट्री प्रयोग गरेको छ । मोटर भने दुबै भेरियन्टमा ९९ किलोवाट क्षमताको पाउन सकिन्छ ।

सन् २०२५ मा कति आयात भयो नामी ?

सन् २०२५ मा नामी बक्स ह्याचव्याक र नामी भिगो मिलाएर ७९३ युनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । कम्पनीले एक वर्षको अवधिमा नामी बक्स ह्याचव्याक कार ५७६ युनिट आयात गरेको छ ।

नयाँ आएको भिगो एसयूभी २१७ युनिट आयात भएको देखिन्छ । समग्रमा आयात भएको ७९३ युनिटले डोङफेङ नामीका उत्पादन बजारमा बिलियो हुँदै गएको संकेत गर्छ ।


Back_to_top