काठमाडौं । नेपालमा उच्च सीसीका मोटरसाइकल (सुपर बाइक)को प्रयोग अति न्यून मात्रमा देखिन्छन् । सरकारले लगाउने उच्च करका कारण मूल्य अति नै महँगो पर्ने भएकाले सुपर बाइक सीमित व्यक्तिको पँहुचमा मात्र छन् । अर्थात् धनाढ्यले मात्रै सुपर बाइक चढ्न सक्छन् ।
नेपाली बजारमा पाइने अधिकांश सुपर बाइकको मूल्य २० लाख रुपैयाँभन्दा बढी रहेको छ । यो मूल्य इन्ट्री लेभल कारकोभन्दा पनि महँगो हो । नेपालमा सुपर बाइक कारभन्दा महँगा छन् । सुपर बाइक मूल्यकै कारण मध्यम वर्गको पहुँचमा छैन ।
विशेषगरी २० लाख रुपैयाँ भन्दा माथिका प्रिमियम मोटरसाइकलहरू स्पोर्ट, टूरिङ् र हाई इन्ड परफर्मेन्सका कारण चर्चामा आउने गर्छन । यस्ता प्रिमियम मोडलहरू धनाड्य सुपर बाइकका सौखिनहरूले मात्रै प्रयोग गर्छन् ।
हाल नेपाली बजारमा करिब १ दर्जन ब्राण्डका सुपरबाइकहरू उपलब्ध छन् । डुकाटी, बीएमडब्लू, एमभी अगस्टा, हार्ले डेभिडसन, कावासाकी, होण्डा, यामाहा, सुजुकी, बेनेली लगायत ब्राण्डका सुपर बाइक किन्न पाइन्छ । अधिकांश सुपर बाइक अधिकांश कम्पनीले ग्राहकले अर्डर (बुकिङ) गरेपछि मात्र आयात गर्ने गरेका छन् । यद्यपि, केही मोडल भने पहिल्यैदेखि शोरुममा उपलब्ध गराएका हुन्छन् ।

नेपालमा होण्डा, यामाहा र बेनेली बाहेक अन्य ब्राण्डका मोटरसाइकलहरू ६०० सीसी भन्दा माथिका मात्रै रहेका छन् । साथै, होण्डा, यामाहा र बेनेली तीन ब्राण्डको भने सुपर बाइक मात्रै नभइ साना क्षमताका कम्प्युटर सेग्मेन्ट र मिडियम रेन्जका मोडलहरू पनि पाइन्छ ।
सुपर बाइक उच्च प्रदर्शन, एड्भान्स फिचर र सोफिस्टिकेटेड टेक्नोलोजी प्रदान गरिएको हुन्छ । जसकारण सौखिनहरूले महँगो मूल्य तिरेर खरिद गर्छन् ।
यी हुन् नेपालमा उपलब्ध सुपर बाइक
नेपालमा डुकाटीको मोटरसाइकल टर्बो मोटर्सले बिक्री गर्दै आइरहेको छ । कम्पनीले डुकाटीको ३० लाखदेखि करोडभन्दा माथिसम्मका उच्च सीसीका मोटरसाइकलहरू बिक्री गर्छ । जसमा डुकाटी मन्सटर, डुकाटी स्क्रयाम्बलर, एक्स डियाभिल, पानीगाले, हाइपर मोटार्ड र मल्टिसट्राडा जस्ता मोडलहरू छन् ।
नेपालमा बीएमडब्लूका एड्भेन्चर एफ सेग्मेन्ट र स्पोर्ट मोडलहरू उपलब्ध छन् । यी मोडलहरूको मूल्य ४० लाख रुपैयाँभन्दा माथि पर्छ । बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता हिमालयन मोटार्ड रहेको छ ।

होण्डा र यामाहा मोटरसाइकलका लागि नेपालमा चर्चित ब्राण्ड हुन् । नेपालमा होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी र यामाहाको एमएडब्लू राइडस् हो । होण्डाको नेपालमा हाल २० लाख भन्दा माथि सीआरएफ र सीबीआर मोडल उपलब्ध रहेको छ । होण्डाको धेरै समय अघि नेपाल आएको पुरानो हर्नेट नेकेड स्पोर्ट बाइक अहिले पनि रोडहरूमा देखिन्छ ।
यामाहाले भने नेपालमा सुपरबाइक सेग्मेन्टका लागि बिग बाइक शोरुम नै नयाँ बनाउँदै छ । यामाहाको आर १, एमटी सेग्मेन्ट, टेरेनो र बोल्ट जस्ता सुपर मोडल उपलब्ध हुनेछन् । यी मोडलहरू ३० लाख रुपैयाँभन्दा धेरै मूल्यका हुन् ।
सुजुकीको हायाबुसा सुपर बाइक विश्वभर नै चर्चित मोडल हो । सुजुकीको पुरानो भर्सन हायाबुसाका साथै अर्को जीएसएक्स नेकेड स्पोर्ट अहिले पनि नेपाली बजारमा देखिन्छ ।

बेनेलीको नेपाली बजारमा टीएनटी ६०० आइ र बेनेली ७५२ एस दुई मोडलमा सुपरबाइक उपलब्ध छ । नेपालमा बेनेलीका मोटरसाइकल केटीएम इन्टरनेसनलले बिक्री गर्छ । कम्पनीले टीएनटी ६०० आइको २३ लाख ५८ हजार रुपैयाँ र बेनेली ७५२ एसको २५ लाख १५ हजार रुपैयाँ मूल्य तोकेको छ ।
नेपालमा हार्ले, एमभी अगस्टा र कावासाकीको भने शोरुम छैन । यी ब्राण्का पुरानो मोडलका सुपरबाइकहरू सडकमा देखिन्छन् । यदि ग्राहकले यी ब्राण्डका नयाँ मोडल मोटरसाइकल खरिद गर्न चाहेमा अन्य ब्राण्डका मोटरसाइकल बिक्री गर्ने कम्पनीहरूले उपलब्ध गराउँछन् ।


