काठमाडौं । विश्वकै सबैभन्दा ठूलो अटोबजार चीनले कारको ढोकामा बाहिरबाट नदेखिने (हिडन) डोर ह्याण्डल प्रयोगमा प्रतिबिन्ध लगाएको छ ।
चीनले सुरक्षा जोखिम देखाउँदै कारको ढोकामा हिडन डोर ह्याण्डल प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
यो नयाँ नियम सन् २०२७ जनवरी १ देखि लागू हुनेछ । हाल बजारमा स्वीकृत भइसकेका मोडेललाई डिजाइन परिमार्जनका लागि थप २ वर्षको समय दिइने छ ।
टेस्लाले लोकप्रिय बनाएको यो हिडन डोर ह्याण्डल माथि प्रतिबन्ध लगाउने चीन पहिलो देश समेत बनेको छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब चीनमा बिक्री हुने सबै नयाँ कारमा ढोकामा बाहिरबाट चलाउन मिल्ने स्पष्ट मेकानिकल ह्याण्डल अनिवार्य रुपमा राख्नुपर्नेछ ।
नयाँ मापदण्ड अनुसार ढोकाको बाहिरी भागमा कम्तीमा ६ सेमी × २ सेमी × २.५ सेमी आकारको स्पष्ट खाली ठाउँ हुनुपर्नेछ । जसबाट आपतकालीन अवस्थामा हात हालेर ढोका खोल्न सकियोस् । साथै, भित्रपट्टि ढोका कसरी खोल्ने भन्ने देखाउने कम्तीमा १ सेमी × ०.७ सेमीको स्पष्ट संकेत पनि राख्नुपर्नेछ ।
चीनमा उत्पादन हुने करिब ६० प्रतिशत न्यू इनर्जी भेहिकलका चर्चित मोडलहरूमा हिडन डोर ह्याण्डल प्रयोग हुँदै आएको छ । तर हालै शाओमी ईभीका दुई घातक दुर्घटनामा विद्युत् प्रणाली बिग्रिँदा ढोका नखुलेको आशंका भएपछि नियामकहरू झस्किएका हुन् ।
चीन विश्वकै सबैभन्दा ठूलो अटो बजार भएकाले यो निर्णयले विश्वव्यापी कार डिजाइन र सुरक्षा मापदण्डमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
अमेरिकामा पनि टेस्लाका कारका ढोकामा रहेका गोप्य ह्याण्डलमाथि अनुसन्धान भइरहेको छ । चार घटनामा यात्रुहरूले झ्याल फुटाएर बाहिर निस्कनुपरेको बताइएको छ ।

