भारतमा कार बिक्रीमा भारी गिरावट, ११ कम्पनीको बिक्री घट्दा एउटाको बढ्यो

तिहारपछि नेपालमा चारपाङ्ग्रे सवारी साधनको बिक्रीमा क्रमिकरुपमा गिरावट आइरहेको छ । बैंकमा लगानी योग्य रकमको अभाव, सवारीसाधनमा जाने कर्जामा कडाईजस्ता कारण नेपाली अटो बजार सिथिल बनिरहेको समयमा भारतीय बजारमा पनि गत अप्रिल महिनामा चारपाङ्ग्रे सवारीसाधनको बिक्रीमा भारी गिरावट आएको हो ।

भारतीय बजारमा सबैभन्दा धेरै मार्केट सेयर ओगटेको मारुती सुजुकीले करिब २ प्रतिशतले बजार हिस्सा नै गुमाएको छ भने होन्डाले करिब १.५ प्रतिशतले आफ्नो बजार हिस्सा बढाउन सफल भएको छ ।

मारुती सुजुकीको बिक्री अघिल्लो वर्षको अप्रिलको तुलनामा १९.६ प्रतिशत घटेर १ लाख ३१ हजार ३८५ यूनिट कार बिक्री भएको छ भने हुन्डाईको बिक्री १० प्रतिशतले घट्दा ४२ हजार ५ यूनिटमा झरेको छ ।

यी दुबै कम्पनीले अघिल्लो वर्षको अप्रिलमा क्रमश १ लाख ६३ हजार ४३४ र ४६ हजार ७३५ यूनिट कार बिक्री गरेका थिए । बजार हिस्सा भने हुन्डाईको १.३ प्रतिशतले बढेको छ ।

२०१८ अप्रिलको तुलनामा यस अप्रिलमा बिक्री घट्ने कम्पनीमा टाटा, महिन्द्रा, फोर्ड, निशान, डाट्सन, जीप, स्कोडा, फक्सवागन, रेनो, टोयोटा र स्कोडा रहेका छन् ।

अप्रिलमा सर्वाधिक बिक्री घटेको कम्पनीमा निशान र डाट्शनको संयूक्त ग्रुप रहेको छ । डाट्सनको ४६ प्रतिशतले बिक्री घट्दा निशानको बिक्री २८ प्रतिशतले घटेको छ । समग्रमा निशान ग्रुपले ४२.५ प्रतिशत बजार गुमाएको छ । त्यस्तै फक्सवागनको बिक्रीमा ३६ प्रतिशतले गिरावट आउँदा जीपको बिक्रीमा ३७ प्रतिशतले गिरावट आएको छ ।

अप्रिलमा बिक्री बढाउने एउटा मात्रै कम्पनी होन्डा भएको छ । जसले अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बिक्री बढाउन सफल भएको छ । अघिल्लो बर्षको अप्रिलमा ९ हजार १४३ यूनिट कार बिक्री गरेको होन्डाले यस वर्षको सोही समयमा ११ हजार २७२ यूनिट कार बिक्री गरेको हो । 


Back_to_top