काठमाडौं । ७ सिटे इलेक्ट्रीक एसयूभी एमजी हेक्टर टोमहक दैनिक १ हजार ६६७ रुपैयाँ हाराहारी किस्ता तिर्नेगरी चढ्न सकिने भएको छ ।
नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले नेपालमा शनिबारदेखि बिक्री सुरू गरेको टोमहक ईभी किस्ताबन्दीमा खरिद गर्दा मासिक ५० हजार अर्थात् दैनिक १६६७ रुपैयाँ पर्ने भएको हो ।
कम्पनीले सुरूआती ५० ग्राहकलाई विशेष छुट दिँदै टोमहक ईभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि, छुटअघिको आधिकारिक मूल्य भने ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।
सो अनुसार हाल ग्राहकले ५७ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने टोमहक ईभी किन्न सुरूमा ४० प्रतिशत अर्थात् २३ लाख १९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी ३४ लाख ७९ हजार ४०० रुपैयाँ बैंकबाट ७ वर्षका लागि कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले ५.२५/५.५० प्रतिशत ब्याजदरमै सजिलै गाडी किन्न कर्जा पाउने अवस्था छ । केही बैंकले ५ प्रतिशतभन्दा कम ब्याजदरको स्कीम नै ल्याएका छन् । यस्तोमा ५.५ प्रतिशत ब्याजदर र ७ वर्षको कर्जा अवधिको आधारमा हिसाब गर्दा टोमहकको मासिक ४९ हजार ९९९ रुपैयाँ पर्छ । उक्त मासिक किस्तालाई दैनिक रूपमा हिसाब गर्दा १ हजार ६६७ रुपैयाँ पर्न जान्छ ।
यद्यपि, छुटअघिको आधिकारिक मूल्यको आधारमा हिसाब गर्ने हो भने मासिक किस्ता यो भन्दा केही महँगो पर्न जान्छ । तर, अहिले कम्पनीले ४ लाख छुट दिएकाले यहाँ सोही मूल्यलाई आधार मानेर मासिक किस्ता हिसाब गरिएको हो ।
यस्तो छ टोमहक ईभी
७ सिटे टोमहकको ईभीको डिजाइन निकै आकर्षक र बोल्ड छ । यसको अगाडि भागमा स्लिम क्लोज्ड अफ ग्रिल, टेक्स्चर्ड क्रोम इन्सर्ट र इलुमिनेटेड एमजी लोगो प्रयोग गरिएको छ । आयताकार एलईडी हेडलाइट र डीआरएलको संयोजनले एसयूभीलाई फरक पहिचान दिएको छ ।
बम्परमा एरोडाइनामिक्स सुधार गर्न एयर भेन्ट तथा तल्लो भागमा क्रोम फिनिसको एयर ड्याम दिइएको छ । साइड प्रोफाइल निकै बक्सी डिजाइन छ । ठूला विन्डो र परम्परागत पुल टाइप डोर ह्यान्डलसँगै १८ इन्चको ड्युअल टोन अलोय ह्वीलमा रातो ब्रेक क्यालिपर प्रयोग गरेर स्पोर्टी देखाएको छ । यो एसयूभीको पछाडि र्यापअराउण्ड एलईडी टेललाइट, ठूलो रूफ स्पोइलर र सिल्भर स्किड प्लेट दिइएको छ ।

यसको लम्बाइ ४७४५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १७७० एमएम छ । यसमा २८१० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम अग्लो छ ।
इन्टेरियर निकै मिनिमलिस्ट डिजाइनको छ । क्याबिन हल्का ब्राउन र कालो कलर थिम तथा ड्यासबोर्ड, डोरप्याड, आर्मरेस्ट र स्टेरिङमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ ।
टोमहक ईभीको ड्यासबोर्डमा १५.६ इन्चको ठूलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ । यसमा १० स्पिकरको इन्फिनिटी साउण्ड सिस्टम र ८.८ इन्च डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, कनेक्टेड कार टेक्नोलोजी उपलब्ध छ ।
ड्राइभर सिटमा ६ वे पावर एड्जस्टमेन्ट र अगाडिको यात्रुका लागि ४ वे पावर एड्जस्टमेन्ट दिइएको छ । अगाडिका दुवै सिट भेन्टिलेटेड छन् । गियर सेलेक्टर स्टेरिङ कोलममा राखिएको छ ।
एमजीको एडाप्ट प्लेटफर्ममा बनेको हेक्टर टोमहक ईभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले ३१० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ६९.२ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५१७ किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

यसले ९० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट यसको ब्याट्री ३५ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । यसमा भेहिकल टु होम फङ्सन पनि उपलब्ध रहेको छ ।
सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड असिस्ट, टीपीएमएस, अगाडि र पछाडि पार्किङ सेन्सर, अल ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामेरा लगायत फिचर छन् ।

