नेपालमै बनेको विद्युतीय ‘बस’ आइतबारदेखि गुड्ने

काठमाडौं । नेपालमै एसेम्बल भएको १४ सिटे विद्युतीय चारपाँग्रे सवारी (बस) आइतबार (माघ २५ गते)देखि सडकमा गुड्ने भएको छ । सुन्दर अटो इन्जिनियर प्रालिले बनाएको उक्त सडक परीक्षण गर्न लागिएको हो ।

कम्पनीका अध्यक्ष भेष थापाले नेपालमै पहिलोपटक एसेम्बल गरिएको चारपाँग्रे विद्युतीय सवारी आइतबार सडक परीक्षण गर्न लागिएको जानकारी दिए । सडक परीक्षण गरेर यातायात व्यवस्था कार्यालयमा दर्ता प्रक्रियामा लैजाने उनले बताए ।

उनले उक्त सवारीमा ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा नेपालकै प्रयोग गरिएको बताए । बाँकी आवश्यक सामग्री भारत र चीनबाट ल्याएर गाडी एसेम्बल गरेको उनले जानकारी दिए ।

‘नेपालमै पहिलोपटक चारपाँग्रे विद्युतीय सवारी साधन एसैम्बल गरेका छौं । आइतबारदेखि काठमाडौंमा सडक परीक्षण सुरू गर्छौं,’ उनले मेरोअटोसँग भने, ‘उक्त सवारीमा करिब ६० प्रतिशत सामान स्वदेशी नै प्रयोग भएको छ । बाँकी भारत र चीनबाट ल्याएर जडान गरिएको छ ।’

उनका अनुसार गाडीको डिजाइन भारतमा तयार गरिएको हो । गाडीको बडी डिजाइन, वायरिङ र अधिकांश संरचना नेपालमै तयार गरिएको हो । यसका प्रयोग गरिएका सबै सामान नेपाल गुणस्तर चिह्न प्राप्त रहेको उनले बताए ।

उनले यो बसले बिक्रम ट्याम्पु विस्थापित गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार पहिलो चरणमा काठमाडौं, चितवन र बुटवलमा यो बस चलाउने लक्ष्य राखिएको छ । त्यसपछि देशका अन्यसहरमा पनि क्रमशः संचालन गरिने उनको भनाइ छ । बजारको माग अनुसार उत्पादन गरिने उनले बताए ।

कम्पनीले बनाएको १४ सिटे ईभीमा सिसैसिसाले घेरिएको छ । झट्ट हेर्दा एयरपोर्ट, गल्फकोर्ट, ठूला उद्योग लगायतमा प्रयोग गरिने सवारी जस्तो देखिन्छ । यो सवारीले १४ जना यात्रु बोकेर १७ डिग्री उकालो चढ्न सक्ने क्षमता राख्दछ ।

सरकारले गाडीलाई मान्यता दिए र आवश्यक सहजीकरण गरिदिए आगामी वर्षमा ठूलो संख्यामा उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । सवारीको मूल्य भने सरकारी परीक्षणपछि तोकिने उनले बताए ।


Back_to_top