काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भारत सरकारले अनुदानमा उपलब्ध गराएका ४८२ युनिट सवारी साधन नेपाल भित्रिएका छन् ।
भारत सरकारले दिएका ती सवारी साधन वीरगंज भन्सार नाका हुँदै नेपाल ल्याइएको हो ।
वीरगंजस्थित एकीकृत सुरक्षा जाँच चौकी, अप्रेशन शाखाका अनुसार आइतबारसम्म भारतबाट ४८२ युनिट गाडी नेपाल भित्रिएका हुन् । ती सवारी साधन पटक-पटक गरी नेपाल ल्याइएको हो ।
‘आइतबारसम्म ४८२ युनिट गाडी नेपाल भित्रिएका छन् । थप अरू गाडी पनि आउँदैछन् भन्ने सुनिएको छ । आउँदै होलान,’ कार्यालयका एक कर्मचारीले भने । भारतले नेपाललाई कुल ५३८ युनिट सवारी उपलब्ध गराउने बताइएको छ ।
वीरगंज भन्सार कार्यालयकी प्रमुख भन्सार अधिकृत ललिता ज्ञवालीले सोमबारसम्म ४८१ युनिट गाडीको जाँचपास प्रक्रिया सकिएको जानकारी दिइन् । उनका अनुसार ती गाडीहरु महशुल छुटमा नेपाल आएका हुन् ।
‘भारतले नेपाललाई अनुदानमा दिएका सवारी आइरहेका छन् । सोमबारसम्म ४८१ युनिटको जाँचपास प्रक्रिया सकिएको छ,’ उनले मेरो अटोसँग भनिन्, ‘अब थप ५७ वटा गाडी आउने जानकारी छ ।’
भारतले नेपालाई महिन्द्रा स्कर्पियो एसयूभी र बोलेरो गाडी उपलब्ध गराएको हो । कुन सवारी कति संख्यामा उपलब्ध गराएको भन्ने तथ्यांक खुलाइएको छैन ।
भारत सरकाले उपलब्ध गराएको गाडी औपचारिक हस्तान्तरण सुरू समेत गरिसकेको छ । पहिलो चरणमा गत माघ ६ गते सिंहदरवारमा एक कार्यक्रमका बीच ६१ गाडी हस्तान्तरण गरेको थियो ।
भारतले उपलब्ध गराएका ती सवारी साधन नेपाल प्रहरी, निर्वाचन आयोग लगायत सरकारी निकायले निर्वाचनमा प्रयोग गर्ने छन् ।
गत भदौमा भएको जेन जी आन्दोलनको क्रममा देशभर सरकारी निकाय, प्रहरीका सवारी जलाउँदा अहिले सरकारलाई सवारी अभाव छ । भारतले उपलब्ध गराउने ती सवारीले सरकारलाई ठूलो राहत पुग्नेछ ।

