काठमाडौं । हुन्डाईले आगामी वर्ष बजारमा ल्याउने नयाँ जेनेरेशन क्रेटाको तयारीलाई तीव्रता दिएको छ । कम्पनीले ग्लोबल मोडलको रूपमा क्रेटाको नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो ।
थर्ड जेनेरेशन क्रेटाको रूपमा आउन लागेको एसयूभीको बाहिरी हाडवेयर र भित्री फिचरमा ठूलो परिमार्जन हुने देखिन्छ । अहिले पूर्णरूपमा ढाकेर सुरू भएको परीक्षणका तस्बिरहरू अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित हुन थालेका छन् ।
हुन्डाईले सन् २०२७ बाट बिक्री गर्ने नयाँ जेनेरेशन क्रेटाको फ्रन्ट लुक्स र डिजाइन दुवैमा व्यापक परिमार्जन हुने देखिन्छ । अहिले बाहिर आएको तस्बिरहरू अनुसार १९ इन्चको डुअल टोन अलोय ह्वील देख्न सकिन्छ । यसअघिका जेनेरेशनको तुलनामा ठूलो ह्वील देखिएको छ ।
अहिले बजारमा बिक्री हुँदै आएको क्रेटाको तुलनामा नयाँ जेनेरेशन मोडल लामो र फराकिलो हुन्छ । साइज नै परिवर्तन भएर आउने भएको कारण नयाँ क्रेटा विल्कुलै नयाँ हुनेछ ।

हुन्डाईले नयाँ जेनेरेशन क्रेटाको भित्री डिजाइनमा पनि व्यापक परिमार्जन गर्ने देखिएको छ । उसले पछाडिको सिट पनि बोस मोड दिएर ल्याउने भएको हो । पछाडि बाटै अगाडिको प्यासेन्जर सिट मिलाउने सुविधा यसमा उपलब्ध हुनेछ ।
नयाँ जेनेरेशन क्रेटामा रहने इन्जिन लगायतका विषयमा अहिलेसम्म कुनै पनि डिटेल सार्वजनिक भएको छैन । भारत र नेपालमा निकै सफल मानिएको क्रेटाको नयाँ जेनेरेशन मोडल हाम्रो बजारमा पनि उपलब्ध हुनेछ ।


