काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थल आसपासका क्षेत्रमा ५ जना बढी व्यक्ति जम्मा भई कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न रोक लगाएको हो ।
केही समूह र राजनीतिक दलहरूले फागुन १ गते विमानस्थल क्षेत्रमा प्रदर्शन, भेला र र्याली जस्ता गतिविधि गर्ने घोषणा गरेपछि सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्र र आसपासको क्षेत्रमा प्रदर्शन, नाराजुलुस, सभा जस्ता गतिविधि गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनीजस्ता उच्छृङ्खल गतिविधि हुन सक्ने भन्दै त्यस्ता गतिविधिमा रोक लगाइएको हो । उक्त निषेधाज्ञा आजदेखि १ महिनासम्म कायम रहने प्रशासनले जनाएको छ ।
‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
निषेध आदेश जारी गरिएका क्षेत्र बाहेकका स्थानमा संविधान बमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवम् विना हातहतियार शान्तिपूर्ण रुपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने प्रशासनले स्पष्ट पारेको छ ।
निषेधित र संवेदनशील क्षेत्रमा कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई कारबाही गरिने पैशासनले चेतावनी दिएको छ ।


