काठमाडौं । आज महाशिवरात्री पर्व मनाइँदै छ । पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन संचालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने ट्राफिकले जनाएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको भिडभाड अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन संचालनको व्यवस्था मिलाइने छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई संचालनको व्यवस्था मिलाइने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै, विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरू छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । ट्राफिक प्रहरीका अनुसार सिफल चौरमा दर्शानार्थीहरूको सवारी, पास वाहक सवारी र सुरक्षाकर्मीका सवारी साधन पार्किङ व्यवस्था मिलाइएको छ ।
त्यस्तै, भण्डारखालर कोषको कार्यालयमा पासवाहक सवारी, तिलगंगा आँखा अस्पताल, करिडोर र र गुहेश्वरीमा तिर्थयात्री, दर्शानार्थी, पर्यटकका सवारी पार्किङ गर्न सकिने छ ।
त्यसैगरी, वनकाली क्षेत्रमा शिविर संचालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी, सुरक्षाकर्मी र प्रहरी वृत्त गौशालामा पासवाहक सवारी पार्किङको व्यवस्था मिलाइएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।

