निरन्तर ‘टप सेलिङ मोडल’ बन्दै जिलीको ह्याचब्याक कार, कहिले आउँछ नेपाल ?

काठमाडौं । जिलीको चीनमा जिओमे ब्राण्डमा बिक्री गर्दै आएको ‘जिङयूआन’ ह्याचब्याक कार निरन्तर ‘टप सेलिङ मोडल’ बन्दै आएको छ । ह्याचब्याक सेग्मेन्टमा विलिङ र बीवाइडीका गाडीलाई उछन्दै जिङयुआन सर्वाधिक बिक्री हुने मोडल भएको हो ।

सन् २०२५ मा सर्वाधिक बिक्री भएको जिङयुआन ह्याचब्याक कार सन् २०२६ को पहिलो जनवरी महिनामा पनि सर्वाधिक बिक्री भएको छ । जिलीले जिओमीको ‘क्यूट ह्याचब्याक’ कार जनवरी महिनामा २९ हजार ७ युनिट बिक्री गरेको देखिन्छ । जुन अन्य ५ प्रतिस्पर्धी मोडलको बिक्री बराबर हो ।

चीनको न्यू इनर्जी भेहिकल बिक्रीमा एमजी फोर ह्याचब्याक जनवरी २०२६ को बिक्री अनुसार दोस्रो स्थानमा देखिएको छ । चीनमा भन्दा युरोपमा निकै बलियो एमजीले परिष्कृत गरेर ल्याएको एमजी फोर दोस्रो धेरै बिक्री हुने मोडल बनेको छ ।

जिलीले आफ्नो जिङयुआन ह्याचब्याक निकै सार्प लुकमा ल्याएको कारण धेरैको रोजाइमा परेको देखिन्छ । ‘स्माइल’ थिममा तयार भएको ह्याचब्याक कारको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ ।

जिलीले यसमा ५८ किलोवाट क्षमताको मोटर दिएको छ । उक्त मोटरले १३० एनएम टर्क प्रदान गर्छ । सानो मोटरलाई पावर दिन ३०.१२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री दिइएको छ ।


यसमा अर्को ८५ किलोवाट क्षमताको मोटर दिइएको छ । उक्त मोटरले भने १५० एनएम टर्क दिन्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने सीएलटीले प्रमाणित गरेको छ । कम्पनीले यसमा ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ दिएको छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न मिल्ने ह्याचब्याकलाई ३.३ किलोवाटको एसी र ८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।

८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, १०.१ र १४.६ इन्चको स्क्रीन उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।

कहिले आउँछ नेपाल ?

नेपालमा जिलीको उत्पादन दुई तरिकाले आइरहेको छ । जिली ग्रुपको स्वामित्व रहेको मलेशियन ब्राण्ड प्रोटोनमा इमास सब ब्राण्डबाट जिलीले उत्पादन गरेको ईभी उपलब्ध छ ।


दोस्रो जिली ब्राण्डबाटै एलआरआर ग्रुपले जिली ग्यालेक्सी ब्राण्ड ल्याएर बिक्री गर्दै आएको छ । जिली ब्राण्ड नेमबाट इएक्स टु नामसहित जिङयुआन मोडल नेपालमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

प्रोटोनले भने इमास फाइभ नाम दिएर यो ह्याचब्याक कार नेपाल ल्याउँदै छ । प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यसलाई नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।

सम्भवतः दुवै ब्राण्डले आगामी भदौमा हुने अटो शोको मौका पारेर नयाँ मोडल ल्याउने छन् ।


Back_to_top