काठमाडौं । नेकपा एमाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली-राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारासहित चुनावी घोषणापत्र ल्याएको छ ।
एमालले चुनावी घोषणापत्रमा आर्थिक वृद्धि, रोजगारी, औद्योगिक विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, सुशासन लगायत विषयलाई प्राथमिकतामा राखेको छ ।
एमालले ‘सुरक्षित यातायात, आधुनिक पूर्वाधार-दिगो विकास र समृद्धिको आधार’ नाराका साथ यातायात र पूर्वाधार क्षेत्रका योजनाहरू तय गरेको छ ।
घोषणापत्रमा पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायत मुख्य राजमार्ग स्तरोन्नति गर्ने, सबै पालिकामा पक्की सडक पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै, पूर्व-पश्चिम, वीरगंज-काठमाडौं, केरुङ-काठमाडौं विदुतीय रेलमार्ग बनाउने, एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम विकास गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने, विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने, सार्वजनिक यातायातको पुनर्संरचना गर्ने, प्रमुख विमानस्थल १८ घण्टासम्म संचालन गर्ने लगायत चुनावी एजेण्डा बनाएको छ ।
यद्यपि, एमालेले विगतका चुनावहरूमा पनि यिनै महत्वकांक्षी योजना ल्याए पनि उसकै सरकार हुँदा पनि कार्यान्वयन हुन सकेका थिएनन् । यी योजनाहरू सधैं केबल चुनावी नारा मात्र बन्ने गरेका छन् ।
यस्ता छन् एमालेका यातायात क्षेत्र र पूर्वाधार सम्बन्धी १५ योजना
१. सबै गाउँपालिकालाई सबै मौसममा चल्ने कम्तिमा एक सडकले जोड्नेछौं । जिल्ला सदरमुकाम र प्रदेश राजधानीलाई राष्ट्रिय राजमार्गमा जोड्नेछौं। अब बन्ने सडकहरू कम्तिमा डबल लेनको हुने छन्, विगतमा निर्माण भएका सिंगल लेनका सडकहरूलाई डबल लेनमा स्तरोन्नति गर्नेछौं ।

२. भौगोलिक र प्राकृतिक हिसाबले असम्भव बाहेकका नेपालको जुनसुकै भौगोलिक क्षेत्रमा बस्ने व्यक्तिले औसत आधा घण्टा हिँडेर सडक यातायातको सुविधा प्राप्त गर्न सक्नेगरी राष्ट्रव्यापी रूपमा न्यूनतम सडक सुविधाको संजाल निर्माण गर्नेछौं।
३. पूर्व-पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्नेछौं। मध्यपहाडी-पुष्पलाल) राजमार्गलाई डेडिकेटेड डबल लेनको स्तरमा निर्माण गर्नेछौं। मदन भण्डारी राजमार्ग र हुलाकी राजमार्गलाई रणनीतिक राजमार्गको रूपमा विकास गर्नेछौं। कोशी, गण्डकी र कर्णाली करिडोरलाई आर्थिक समृद्धिका मेरुदण्डको राजमार्गका रूपमा विकास गर्नेछौं ।
४. देशको राजधानी काठमाडौँलाई तराई मधेशसँग जोड्ने द्रुतमार्ग -फास्टट्रयाक)को निर्माण निर्धारित समयभित्र सम्पन्न गर्नेछौं।
५. पूर्व-पश्चिम विद्युतीय रेलमार्ग आगामी एक दशकभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिनेछौं। वीरगञ्ज-काठमाडौं विद्युतीय रेलमार्ग र केरुङ-काठमाडौं विद्युतीय रेलमार्ग निर्माणका लागि पूर्वाधार तयारीको कार्य अघि बढाउनेछौं। नेपाल-भारत अन्तरदेशीय रेल मार्ग निर्माणको कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कार्यान्वयन गर्नेछौं ।

६. मित्रराष्ट्र भारतसँग अन्तर्देशीय जलमार्गको माध्यमबाट र मित्रराष्ट्र चीनसँग पारवहन तथा व्यापार सम्झौता बमोजिम सामुद्रीक बन्दरगाह उपयोग गरेर अन्तर्राष्ट्रिय व्यापारमा जलमार्गको पहुँच विकास गर्नेछौँ।
७. काठमाडौँ-तराई/मधेस द्रूतमार्ग लगायत निर्माणाधीन राजमार्गहरूको निर्माण सम्पन्न गर्नेछौं। राष्ट्रिय एकता, सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै सन्तुलित क्षेत्रगत विकासका लक्ष्यहरू हासिल गर्न राष्ट्रको लाइफलाइन मानिने सडक पूर्वाधारको गुरुयोजना तयार गरी कार्यान्वयन गर्नेछौं।
८. राजमार्ग, रेलमार्ग, जलमार्ग र विमानस्थललाई एकअर्कासँग आबद्ध गर्नेगरी ‘एकीकृत मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’को विकास गर्नेछौं।
९. सुरक्षित, छिटो र आरामदायी यातायात सेवाका लागि सडकको गुणस्तर सुधारमा योजनाहरू केन्द्रित गर्नेछौं। अन्तर्राष्ट्रिय ‘रफनेश इन्डेक्स, रोड ज्योम्यट्री र रोड फर्निचर’का उत्कृष्ट अभ्यासहरू पालना गर्दै हाम्रो सडकको गुणस्तरलाई विश्वस्तरको बनाउँछौं।

१०. यात्रुहरूलाई सम्मानजनक व्यवहारको सुनिश्चितता गर्न, यात्रा अवधिलाई सुरक्षित बनाउन र यात्रा अवधिमा यात्रुलाई आवश्यक पर्ने पूर्व तयारीका सूचना समयमै उपलब्ध गराउन यातायात सेवाका मापदण्डहरू निर्माण गरी लागू गर्नेछौं।
११. सडक सुरक्षाका सबै उपायहरू अवलम्बन गरी दुर्घटना न्यूनीकरण गर्नेछौं। सडकमा निश्चित दूरी र अन्तरालमा पेट्रोलिङ गर्ने, सुरक्षा पोष्टहरू संचालन गर्ने व्यवस्था मिलाउनेछौं। जोखिमयुक्त सडक क्षेत्रमा सीसी क्यामरा जडान गर्ने र निश्चित दूरीमा ट्रमा सेन्टर सुविधाको प्रबन्ध गर्नेछौं ।
१२. शहरी क्षेत्रका सार्वजनिक यातायातका रुटहरूलाई व्यवस्थित गरी १० मिनेटको दूरीमा सार्वजनिक यातायातको पहुँच सुनिश्चित हुने व्यवस्था मिलाउनेछौं। शहरी क्षेत्रमा पैदलयात्रीको सुरक्षाका लागि सडक पेटीको उपयुक्त प्रबन्ध गर्नेछौं।

१३. विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, सूचना प्रविधिमा आधारित एकीकृत र विद्युतीय भाडा प्रणाली विकास गरी कार्यान्वयन गर्नेछौं। लामो दूरीका सवारी साधनहरू निश्चित अन्तरालमा २४सै घण्टा उपलब्ध हुने व्यवस्था मिलाउनेछौं।
१४. शहरी क्षेत्रमा सवारीको चाप व्यवस्थापन गर्न मेट्रोरेल, मोनोरेल, पडवे, फाष्ट ट्रयाक तथा धेरै यात्रु बोक्ने बस सेवा संचालन गर्नेछौं। सार्वजनिक यातायातको पुनर्संरचना गरी ठूला शहरमा विद्युतीय बस सेवा विस्तार गर्नेछौं ।
१५. प्रमुख आन्तरिक विमानस्थलहरूलाई दैनिक १८ घण्टासम्म संचालन गर्नेछौं। अन्तर्राष्ट्रिय विमानस्थललाई थप पूर्वाधारसहित आधुनिक, सुविधा सम्पन्न बनाउँछौं ।

