सवारी किन्न ऋण दिने हुलास फिनले आइपीओ ल्याउँदै, दियो आवेदन

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) ल्याउने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता ३५८.८५ रुपैयाँ दरले ७४ करोड ४६ लाख १३ हजार ७५० रुपैयाँ बराबरको २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीको आइपीओ निष्काशनका लागि यसअघि नै एनएमबी क्यापिटललाई शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । अब बोर्डबाट अनुमति पाउने बित्तिकै निष्काशन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

हुलास फिनसर्भ हाल संचालनमा रहेका १० हायर पर्चेज कम्पनीमध्ये शेयर बजारमा प्रवेश गर्न लागेको पहिलो कम्पनी समेत हो ।

हुलास फिनसर्भ नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गैर-बैंकिङ वित्तीय कम्पनी हो । यस कम्पनीले सन् २०१२ देखि ग्राहकहरूलाई सवारी खरिद गर्नका लागि हायर पर्चेज सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म १३ करोड ४४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९९.७८ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष पुससम्म कुल ६ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा प्रवाहबाट ४१ करोड ७७ लाख रुपैयाँ ब्याज र फी तथा कमिशनबाट २७ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ८५ करोड रुपैयाँ ऋण लिई १० अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हाल ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड २६ लाख रुपैयाँ र अन्य जगेडा कोषमा २३ करोड १० लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा कम्पनीको खराब कर्जामा पनि सुधार आएको छ । गत वर्ष पुससम्म ४.६८ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ३.०५ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२.३९ रुपैयाँ र नेथवर्थ प्रतिसेयर १९५.६२ रुपैयाँ रहेको छ ।


Back_to_top