ईभीको ब्याट्री बेच्ने कम्पनीले १ वर्षमै कमायो १५ खर्ब नाफा

काठमाडौं । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलको नाफामा उछाल आएको छ । कम्पनीले सन् २०२५ मा आफ्नो खुद नाफा ४२.३८ प्रतिशतले बढाएको हो ।

सीएटीएलले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सन् २०२५ मा ७२.२ अर्ब युआन अर्थात् झण्डै १०.४ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ । यो १५ खर्ब ८ अर्ब रुपैयाँ बराबर हो ।

विद्युतीय सवारी साधन (ईभी)को ब्याट्री बिक्रीमा उछाल आउँदा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको हो ।सन् २०२५ मा कम्पनीको कुल आम्दानी १७.०४ प्रतिशतले बढेर ४२३.७ अर्ब युआन पुगेको छ।

कम्पनीको पावर ब्याट्री व्यवसायबाट हुने आम्दानी २५.०८ प्रतिशतले बढेर ३१६.५ अर्ब युआन पुगेको छ । यो कुल आम्दानीको ७४.७० प्रतिशत हिस्सा हो ।

त्यस्तै, कम्पनीले ऊर्जा भण्डारण ब्याट्री व्यवसायबाट ६२.४ अर्ब युआन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९९ प्रतिशत बढी हो ।

कम्पनीले आफ्ना लगानीकर्ताहरूका लागि प्रत्येक १० सेयरमा ६९.५७ युआन नगद लाभांश प्रस्ताव गरेको छ । जुन यसको खुद नाफाको ५० प्रतिशत बराबर हो।

उत्पादन र व्यवसाय विस्तारका आवश्यकताहरू पूरा गर्न सीएटीएलले आफ्नो ऋण संरचना सुधार गर्न तथा वित्तीय लागत घटाउन अधिकतम ४० अर्ब युआन बराबरका बण्ड दर्ता गरी जारी गर्ने योजना बनाएको छ।

सन् २०२५ मा कम्पनीले कुल ६६१ गिगावाट आवर लिथियम-आयन ब्याट्री बिक्री गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३९.१६ प्रतिशतले बढी हो ।

यसमा पावर ब्याट्रीको बिक्री ५४१ गिगावाट आवर र ऊर्जा भण्डारण ब्याट्रीको बिक्री १२१ गिगावाट आवर पुगेको छ । जसले विश्व बजारमा कम्पनीको शीर्ष स्थान कायम राख्न मद्दत गरेको छ।

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादकको रूपमा सीएटीएल ले सन् २०२५ मा ३९.२ प्रतिशत बजार हिस्सासहित विश्वव्यापी ईभी ब्याट्री बजारमा आफ्नो वर्चस्व कायम राखेको छ।

दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनई रिसर्चका अनुसार ३० प्रतिशत भन्दा बढी बजार हिस्सा भएको विश्वकै एकमात्र ब्याट्री आपूर्तिकर्ता कम्पनी हो ।

सन् २०२५ को अन्त्यसम्म सीएटीएलले विश्वभर ६ वटा प्रमुख अनुसन्धान तथा विकास केन्द्र र २४ वटा ब्याट्री कारखाना स्थापना गरिसकेको छ।

सन् २०२५ को अन्त्यसम्म कम्पनीको लिथियम आयन ब्याट्री उत्पादन क्षमता ७७२ गिगावाट आवर पुगेको छ । कम्पनीका थप ३२१ गिगावाट आवर क्षमताका परियोजनाहरू निर्माणाधीन अवस्थामा छन्।


Back_to_top