बिहीबार सार्वजनिक हुँदै सीएफमोटोको नयाँ मोटरसाइकल

काठमाडौं । सीएफमोटोको डबल पर्पस मोटरसाइकल २५० डुअल नेपालमा दुई दिनपछि सार्वजनिक हुने भएको छ ।

नेपालका लागि सिएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नयाँ डबल पपर्स २५० डुअल मोटरसाइकल फागुन २८ गते सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले लामो समयदेखि नेपालका विभिन्न सडकमा २५० डुअल परीक्षण गरिरहेको थियो । परीक्षण सकाएर कम्पनीले अब बिक्री सुरू गर्न लागेको हो । कम्पनीले २५० डुअल मोटरसाइकलको एक हप्ता अघिबाटै बुकिङ लिइरहेको छ ।

सीएफमोटो २५० डुअल मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावर तथा २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्सका साथ स्लिप एण्ड असिस्ट क्लच रहेको छ ।

मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ भने यसको ग्राउण्ड क्लियरेन्स २४५ एमएम अग्लो र फ्युल ट्याकं १३ लिटर क्षमताको रहेको छ। टायर भने अनरोड र अफरोड दुवैका लागि उपयुक्त हुनेछ ।

मोटरसाइकलमा स्पिडोमिटर, ट्रिप, गियर इण्डिकेटर, इन्धन गेज आदिको जानकारी देखाउने एलसीडी डिजिटल कन्सोल, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन, स्विचेबल एबीएस सिस्टम र साइड स्ट्याण्ड सेफ्टी स्विच जस्ता फिचरहरू छन् ।

अहिले नेपालमा सीएफ मोटो ४५० एमटी निकै चर्चामा रहेको मोडल हो । कम्पनीले आफ्नो लाइनअप थप बलियो बनाउन २५० डुअल ल्याउन लागेको हो ।


Back_to_top