काठमाडौं । पछिल्लो दुई सातामै ३० प्रतिशतले बढेको कच्चा तेलको भार घट्न थालेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेसँगै तेलको मूल्य ओरालो लाग्न थालेको हो ।
ट्रम्पको उक्त संकेतसँगै विश्वभर कच्चा तेलको आपूर्तिमा दीर्घकालीन अवरोध आउने चिन्ता कम भएको कारण मूल्यमा गिरावट आएको हो।
सीबीएस न्यूज सँगको अन्तर्वार्तामा ट्रम्पले निकट भविष्यमै युद्ध अन्त्य हुने बताएका थिए । उनले ‘युद्ध झन्डै पूर्ण रूपमा समाप्त भइसकेको जस्तै’ रहेको र अभियानका लागि पहिले अनुमान गरिएको चारदेखि पाँच साताको समयसीमाभन्दा अमेरिका धेरै अघि पुगेको बताएका थिए।
युद्ध ‘निकट भविष्यमा नै अन्त्य हुने भए पनि आउँदो साताभित्रै समाप्त नहुने संकेत पनि उनले गरे ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार एसियाली बजारको प्रारम्भिक कारोबारमा तेलको मूल्य तीव्र रूपमा घटेको छ । यो समाचार तयार पार्दासम्म (मंगलबार बिहान पौने १२ बजेसम्म) ब्रेन्ट कच्चा तेलको मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडियट (डब्लूटीअइ)को मूल्य ९.३६ प्रतिशतले घटेर प्रतिब्यारेल ८५.९० डलरमा झरेको छ ।
सोमबार तेलको मूल्य एकैदिन ३० प्रतिशतसम्म बढेर प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो भने दिनभर १०० डलर माथि कारोबार भएको थियो । जुन मूल्य सन् २०२२ जुलाइ यताकै उच्च हो । सोमबार इरानले आयातोल्लाह मोज्तबा खामेनीलाई सर्वोच्च नेता घोषणा गरेपछि मूल्यमा उछाल आएको थियो ।
यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पसँग टेलिफोन वार्ता गर्दै द्वन्द्व छिट्टै अन्त्य गर्ने उद्देश्यले केही प्रस्तावहरू प्रस्तुत गरेका छन् ।
अर्कोतर्फ, जी ७ समूहका अर्थमन्त्रीहरूले आवश्यक परे तेल बजारलाई स्थिर बनाउन कदम चाल्न आफूहरू “तयार रहेको” बताएका छन् । तर उनीहरूले रणनीतिक पेट्रोलियम भण्डार संयुक्त रूपमा बजारमा पठाउने निर्णय भने घोषणा गरेनन्।
यद्यपि मूल्यमा तीव्र गिरावट आएको भए पनि कच्चा तेल बजार अझै अस्थिर रहने सम्भावना छ । किनकि भू-राजनीतिक जोखिम अझै उच्च छ। विशेषतः अमेरिका तर्फबाट आक्रमण रोकिने अवस्था आएमा इरानले कस्तो प्रतिक्रिया जनाउनेछ भन्ने कुरा स्पष्ट छैन।
त्यस्तै, खाडी क्षेत्रमा तेल उत्पादनमा आएको अवरोधले पनि बजारको दृष्टिकोणलाई असर गरिरहेको छ। इराकले आफ्ना मुख्य दक्षिणी तेल क्षेत्रहरूमा उत्पादन ७० प्रतिशतले घटाएर दैनिक करिब १३ लाख ब्यारेलमा झारेको छ। कुवेत पेट्रोलियम कर्पोरेसनले पनि उत्पादन घटाउन सुरु गर्दै ‘फोर्स मेजर’ घोषणा गरेको छ।
त्यस्तै, साउदी अरबले समेत उत्पादन कटौती सुरू गरेको छ। यदि आक्रमण जारी रहे इरानले अझ कडा प्रतिक्रिया दिन सक्ने संकेत दिएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्सले तेहरानले ‘युद्धको अन्त्य कसरी हुने भन्ने निर्धारण गर्ने’ बताउँदै अमेरिका र इजरायलका आक्रमण जारी रहेमा क्षेत्रबाट ‘एक लिटर तेलसमेत निर्यात हुन नदिने’ चेतावनी दिएको छ।

