बीवाइडीको ‘फ्ल्यास चार्जिङ २.०’ ले तान्यो ग्राहक, डिलरमा थामिनसक्नु भीड

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीले ल्याएको दोस्रो पुस्ताको ब्लेड ब्याट्री २.० र फ्ल्यास चार्जिङ २.० प्रणालीप्रति उपभोक्ताको उच्च चासो देखिएको छ ।

कम्पनीले गत मार्च ५ (फागुन २१ गते) नयाँ प्रविधि सार्वजनिक गरेपछि चीनका विभिन्न सहरका डिलरशिपहरूमा ग्राहकको थामीनसक्नु भीड लाग्न थालेको हो । साथै, टेस्ट ड्राइभको माग समेत बढिरहेको छ ।

चीनमा सामाजिक संजाल र स्थानीय समाचारमा ब्लेड ब्याट्री २.० को चर्चा बढेपछि धेरै उपभोक्ता प्रत्यक्ष रूपमा प्रविधि परीक्षण गर्न आएका हुन् । विशेष गरी धेरै जाडो हुने क्षेत्रमा ईभी चार्जिङ सम्बन्धी समस्या हुने भएकाले ग्राहकहरूले यस प्रविधिप्रति विशेष चासो देखाएका छन्।

डिलरका कर्मचारीका अनुसार धेरै ग्राहकहरूले चिसो मौसममा ब्याट्रीको कार्यक्षमता र चार्जिङ गतिबारे विस्तृत जानकारी मागिरहेका छन्। टेस्ट ड्राइभ तथा गाडी प्रदर्शनका लागि लाइनसमेत लाग्न थालेको बताएका छन्।

बिक्री सुस्त भइरहेको बेला बीवाइडीले ल्याएको नयाँ ब्याट्री र चार्जिङ प्रणाली कम्पनीले पुनः एकपटक उपभोक्त आकर्षित गर्ने प्रयासको रुपमा हेरिएको छ ।

दोस्रो पुस्ताको ब्लेड ब्याट्रीले अघिल्लो संस्करणको तुलनामा ऊर्जा घनत्व र चार्जिङ गति दुवैमा महत्वपूर्ण सुधार ल्याएको कम्पनीले जनाएको छ । नयाँ प्रणालीले १० प्रतिशतदेखि ७० प्रतिशतसम्म चार्ज हुन करिब ५ मिनेट मात्र लाग्ने बताइएको छ ।

त्यस्तै १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म चार्ज हुन करिब ९ मिनेट लाग्ने दाबी गरिएको छ । अत्यन्त चिसो ठाउँमा पनि यो ब्याट्रीले उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीको भनाइ छ । माइनस ३० डिग्री सेल्सियस तापक्रममा पनि २० प्रतिशतदेखि ९७ प्रतिशतसम्म चार्ज हुन करिब १२ मिनेट मात्रै लाग्ने बताइएको छ।

यी तीव्र चार्जिङ क्षमतालाई सपोर्ट गर्न बीवाइडीले ‘फ्ल्यास चार्जिङ चाइना’ नामक राष्ट्रिय रणनीति अघि बढाइरहेको छ । यस योजनाअन्तर्गत कम्पनीले २०२६ को अन्त्यसम्म चीनभर २० हजार उच्च क्षमताका चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले विद्यमान चार्जिङ नेटवर्क संचालकहरूसँग सहकार्य गर्ने तथा राजमार्ग आसपास विशेष चार्जिङ स्टेशन स्थापना गर्ने योजना बनाएको छ । जसले अत्यन्त छिटो चार्जिङ सुविधा प्रयोग गर्न सक्ने सवारीका लागि देशव्यापी नेटवर्क विस्तार गर्ने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार फ्ल्यास चार्जिङ नेटवर्कको विस्तारले पारम्परिक ब्याट्री स्वाप प्रणालीलाई चुनौती दिन सक्ने सम्भावना छ । किनकि यो प्रणाली उच्च क्षमताका चार्जिङ स्टेशनहरूलाई विद्यमान पूर्वाधारसँग जोडेर संचालन गर्न सकिन्छ।


Back_to_top