अर्को हप्ता काठमाडौंमा लन्च हुँदै ‘जे सिक्स टी’, ग्राउण्ड क्लियरेन्स २२५ एमएम

काठमाडौं । जेको जे सिक्सको नयाँ मोडल नेपाली बजारमा लन्च हुने भएको छ । चिनियाँ कार निर्माता चेरीको न्यू इनर्जी ब्राण्ड जेकोले यसअघि नेपालमा बिक्री गर्दै आएको जे सिक्समा परिमार्जन गर्दै ‘जे सिक्स टी’ नामबाट नयाँ मोडल बजारमा ल्याउन लागेको हो ।

ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स कम्पनीले आगामी साताको सुरूवातमै यसलाई बिक्री थाल्ने योजना बनाएको छ । कम्पनीले जे सिक्स टीमा यसअघि रहेको २०० एमएमको ग्राउण्ड क्लियरेन्स बढाएर २२५ एमएम बनाएर ल्याउन लागेको हो ।

नेपाली उपभोक्ताले ग्राउण्ड क्लियरेन्स हेरेर धेरै ईभी खरिद गर्ने चलन बढ्दै गएको समयमा जेको जे सिक्स टी २२५ एमएम ग्राउण्ड क्लियरेन्समा आउन लागेको हो । कम्पनीले यसको ग्राउण्ड क्लियरेन्सको अलावा बडीमा ‘कस्मेटीक चेन्ज’ पनि गरेको छ ।

अगाडिको ग्रिलमा नै मुख्य परिवर्तन देखिएको नयाँ जे सिक्स टीको साइज पनि परिवर्तन भएको छ । यसको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।

जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ ।

लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा पनि पहिलेकै जस्तो ६५.६९ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । रियर ह्वील ड्राइभ मोटरमा आउने एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।

चेरीले जे सिक्स टी मोडलमा सबै लाइट एलइडी प्रयोग गरेको छ । पछाडि ढोकामा झुन्डाएर छुट्टै स्टोरेज दिएको छ । आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील दिएको कारण नयाँ जे सिक्स थप बक्सी देखिन्छ ।

पानारोमिक शनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर दिइएको छ । साथै, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल-२ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर पाउन सकिन्छ ।

कम्पनीले यसको मूल्य अहिलेसम्म बाहिर ल्याएको छैन । सम्भवत: पहिलेकै हाराहारी मूल्यमा आउन सक्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top