नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा पहिलो पटक हाइब्रिड मोटरसाइकल बिक्री सुरू भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस्ले यामाहाको एफजेडएस हाइब्रिड मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले एफजेडएस हाइब्रिडको मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बिक्री सुरू गरेको हो ।

यामाहा एफजेडएस हाइब्रिडले नेपालको मोटरसाइकल उद्योग बजारमा पूर्ण रूपमा नयाँ सेग्मेन्टको सुरूवात गरेको कम्पनीले बताएको छ ।

यामाहाको एफजेड सिरिजबाट नेपाल आएको पहिलो हाइब्रिड मोटरसाइकलको १४९ सीसी क्षमताको एफआई इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग जोडिएको छ । मोटरसाइकलमा उन्नत किसिमको हाइब्रिड प्रणाली प्रयोग गरिएको कम्पनीको भनाइ छ ।

यसमा प्रयोग भएको नेक्स्ट–जेनेरेशन हाइब्रिड प्रणालीले नर्मल पावरका अलावा थप क्षमता प्रदान गर्छ भने साधारण मोटरसाइकलको तुलनामा यसले इलेक्ट्रिक असिस्ट मार्फत उच्च गतिको एक्सेलेरेशन दिने, सहज स्टार्ट-स्टप प्रणाली, सुधारिएको इन्धन खपत र कम उत्सर्जन प्रदान गर्छ ।

विशेषगरी सहरी आवागमनका लागि उपयुक्त यो प्रणालीले सुरूवाती गति र कम स्पिडमा सहज पावर डेलिभरी दिन्छ । यसले दैनिक आवतजावतलाई निकै सहजता हुन्छ ।

यससँगै नयाँ हाइब्रिड एफजेड एस मोटरसाइकलले ६० किलोमिटरभन्दा बढीको माइलेज, कम सञ्चालन खर्च तथा वातावरणमैत्री राइडिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

नयाँ मोटरसाइकलमा प्रदर्शन, सुरक्षा र आराम राइडलाई ध्यानमा राखेर विभिन्न सुविधा फिचरहरू समावेश गरिएको छ । एफजेडएसमा १४९ सीसीको सिंगल सिलिन्डर, एफआई इन्जिन छ । यो इन्जिनले अधिकतम १२.४ पीएस पावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाइन्छ ।


Back_to_top