काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को नवनिर्वाचित प्रतिनिधि मण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग भेटवार्ता गरेको छ ।
सोमबार अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा टोलीले मुख्यमन्त्रीलाई भेटी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रूपमा छलफल गरेको हो ।
मुख्यमन्त्री बानियाले अध्यक्ष उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरे ।
उनले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रसंशा गरे ।
उनले ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको बताउँदै राजधानीमा रहेका ट्राफिक, पार्किङ लगायत समस्या समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढनुपर्ने बताए ।
त्यस्तै, उनले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडा बीच सहकार्य गरेर अघि बढन सकिने धारणा राखे ।
नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य रहेको जानकारी गराएका उनले नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको लगानी रहेको बताए ।
अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तिको आवश्यकता हुने जानकारी समेत दिए । यसैक्रममा अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसंग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढन सकिन्छ त्यस विषयमा मोडालिटी तयारगरी पेश गरिने बताए ।
नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले शीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसंग हातेमालो गरेर अघि बढन चाहेको बताए ।

