कोलम्बियामा जहाज दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा पनि ६६ जनाको मृत्यु भएको छ । सोमबार कोलम्बियाको पुएर्टो लेगुइजामोबाट उडान भरेको जहाज केही बेरमै दुर्घटनामा परेको हो ।

उक्त जहाजमा चालक दलका ११ सदस्यसहित कुल १२८ जना सवार रहेको बताइएको छ । तीमध्ये कम्तीमा ६६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको कोलम्बियाको सशस्त्र बलका प्रमुखले बताएका छन्।

जनरल ह्युगो अलेजान्ड्रो लोपेज बरेटोले चार सैन्य कर्मचारीहरू अझै बेपत्ता रहेको जानकारी दिएका छन् । ‘यस दुःखद दुर्घटनाको परिणामस्वरूप हाम्रा ६६ सैन्य सदस्यहरूको मृत्यु भएको छ,’ उनले भने।

उनले पेरूको सीमा नजिकै भएको दुर्घटनालाई देशका लागि अत्यन्तै दुःखद घटना भनेका छन् । उनलाई उद्धृत गर्दै बीबीसीले विमानमा आगो लागेका कारण त्यसमा राखिएका गोलाबारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।

दुर्घटनामा परेको विमान अमेरिकामा निर्मित सी-१३० हरक्युलस विमान हो । यसको प्रयोग सैनिकहरूलाई ओसारपसारमा हुँदै आएको थियो ।


Back_to_top