काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादन किया मोटर्सले ‘ईभी टु’को आधिकारिक बिक्री सुरू गरेको छ । कम्पनीले गत जनवरी सार्वजनिक गरेको आफ्नो इन्ट्री लेभल एसयूभी युरोपियन बजारमा बिक्री सुरू गरेको हो ।
कम्पनीले किया ईभी टु विभिन्न चार भेरियन्ट बजारमा ल्याएको छ । जसको सुरूआती बिक्री मूल्य २६ हजार ६०० युरो (करिब ४६ लाख २८ हजार नेपाली रुपैयाँ) तोकेको छ । टप भेरियन्टको मूल्य ३७ हजार १९० युरो (६४ लाख ७१ हजार रुपैयाँ) तोकेको छ ।
हाल नेपालमा किया ईभी ५ बिक्री भइरहेकाले यो पनि आउने सम्भावना छ । यद्यपि, मूल्य भने बढ्ने छ । नेपाल आयात गर्दा भन्सार, अन्तःशुल्क, भ्याट र सडक पूर्वाधार कर तिर्नुपर्छ ।
किया ईभी टु नेपालका लागि पनि उपयोगी साइजमा आएको छ । नेपालमा धेरै मानिसको रोजाइमा चार मिटर साइजको गाडी पर्ने गरेको देखिन्छ । यसको लम्बाइ ४०६० एमएम, चौडाइ १८०० एमएम, उचाइ १५७५ एमएम र ह्वीलबेस २५६५ एमएम छ ।

बक्सी डिजाइन र फ्युचरिस्टिक डिजाइनमा बनेको ईभी टुमा भर्टिकल एलईडी डे टाइम रनिङ लाइट, स्टार म्याप लाइटिङ, फ्लस डोर ह्याण्डल दिएको छ ।
दुई ब्याट्री अप्सनमा उपलब्ध किया ईभी टुमा ४२.२ र ६१ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसको स्टायण्डर्ड रेन्ज मोडलले ३५० किलोमिटरसम्म र लङ रेन्ज मोडलले ४४८ किलोमिटरसम्म रेन्ज दिने कियाको दाबी छ ।
कोरियन कार निर्माताले ४०० भोल्ट आर्किटेक्चरमा यसलाई तयार पारेको हो । डीसी चार्जरको प्रयोगमा किया ईभी टुलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट लाग्नेछ । यसले एसी चार्जर पनि २२ किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीको दाबी छ ।
प्योर ईभी प्लेटफर्ममा बनेको ईभी टु फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । यसमा ९९.५ किलोवाट र १०८ किलोवाटको इलेक्ट्रीक मोटर छ ।
कियाले ईभी टुमा ४०३ लिटरको बुट स्पेश, ड्यासबोर्डमा ३ वटा स्क्रीन, भेहिकल टु लोड, हर्मन कार्डनको म्युजिक सिस्टम, एडास लेभल टु, ३६० डिग्री क्यामेरा, हाइवे ड्राइभिङ एसिस्ट, पानारोमिक सनरुफ दिनेछ ।

