इरानले स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजसँग शुल्क लिने

काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजसँग टोल शुल्क उठाउने भएको छ ।

इरानी संसदको सुरक्षा समितिले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाज तथा तेल ट्यांकरबाट पारगमन शुल्क असुल्ने योजनालाई स्वीकृति दिएको हो ।

यस योजनामा हर्मुज लगायत रणनीतिक जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने व्यवस्था रहेको सरकारी मिडिया इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी)ले जनाएको छ ।

यससँगै अब उक्त जलमार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्ने छ । यो कदम आफ्नो सार्वभौमिकता सुदृढ गर्ने, सुरक्षा व्यवस्थापनको खर्च उठाउने र नयाँ राजस्व स्रोत सिर्जना गर्ने उद्देश्यले चालिएको इरानले जनाएको छ ।

इरानले हर्मुज जलमार्गमा अमेरिकी र इजरायली जहाजहरू संचालनमा पूर्ण रोक लगाएको छ ।

स्ट्रेट अफ होर्मुजलाई अन्तर्राष्ट्रिय जलमार्गको मान्यता दिइएको छ । जहाँ कुनै रोकतोक विश्वका सबै देशका जहाजहरूलाई स्वतन्त्र रुपमा आवतजावतको अधिकार हुन्छ । इरानको यो निर्णयले अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने विश्लेषण गरिएको छ ।

इरानको यो निर्णयसँगै विश्व बजारमा तेलको आपूर्तिमा झन् समस्या हुने देखिएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले स्ट्रट अफ हर्मुजमा कडाइ गरेको थियो । जसको प्रभाव विश्व तेल बजारमा परेको छ । एक महिनाको अवधिमै तेलको भाउ ३० प्रतिशत बढिसकेको छ । पछिल्लो निर्णयले थप उतारचढाव ल्याउन सक्ने अनुमान छ ।


Back_to_top