काठमाडौं । अमेरिकी रिपब्लिकन सिनेटर बर्नी मोरेनोले चिनियाँ ईभीलाई ‘क्यान्सर’को संज्ञा दिएका छन् । केही दिनपछि हुने न्यूयोर्क अन्तर्राष्ट्रिय अटो शो अगाडि आयोजना भएको कार्यक्रममा बोल्दै सिनेटर मोरेनोले चिनियाँ ईभीलाई उक्त संज्ञा दिएका हुन् ।
उनले भने, ‘चिनियाँ ईभीहरू विश्वकै लागि क्यान्सर हुन् । यी साधन अमेरिकामा कहिल्यै प्रवेश नगरुन् भन्ने आफ्नो चाहना रहेको र त्यही अनुसार विधेयक प्रस्ताव गरिएको छ ।’
ट्रम्प सरकारले यो विधेयक पास गरेको खण्डमा सन् २०२५ मा पेश भएको बाइडेन प्रशासनको नियमनभन्दा बाहिर अमेरिका जाने देखिन्छ । यदि, नयाँ प्रस्तावित विधेयक पास भएको खण्डमा लामो समयसम्म अमेरिकी बजारमा चिनियाँ कार प्रतिबन्ध लाग्न सक्नेछ ।
कार मात्रै होइन उक्त विधेययक पास भएको खण्डमा अमेरिकामा कारको लागि आवश्यक हार्डवेयर, सफ्टवेयर र अन्य पार्ट्सको कारोबर पनि ठप्प हुन् रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
सिनेटर मोरेनोले अमेरिकी सरकारको नीतिमा अन्तर्राष्ट्रिय समुदायलाई पनि जोडिन आग्रह गरेका छन् । उनी भन्छन्, ‘ल्याटिन अमेरिका, मेक्सिको, क्यानडा र युरोपले पनि हाम्रो जस्तै मापदण्ड बनाउनुपर्छ ।’
अमेरिकामा प्रस्ताव गरिएको विधेययकलाई त्यहाँको कार निर्माताहरू र व्यवसायिक जगतले बलियो समर्थन दिएका छन् । तर, अमेरिकी संसदको यस्तो प्रस्तावमा भने वाशिङटनमा रहेको चिनियाँ दूतावासले भने कडा आपत्ति जनाएको छ । उसले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यापारमा संरक्षणवाद र भेदभावपूर्ण अनुदान नीति प्रस्तावित विधेयकमा उल्लेख छ, जसले प्रतिस्पर्धाको सिद्धान्त उल्लङ्घन गर्छ ।’
आगामी मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने अपेक्षा गरिएको छ । सम्भवतः उनको भ्रमणपछि चीन-अमेरिका व्यापर युद्ध अन्त्य हुनेछ ।
शक्ति राष्ट्रहरूको व्यापार युद्धको बाछिटा अन्य देशहरूमा पनि निरन्तर पर्ने सहजै अनुमान लगाउन सकिन्छ ।


