कर घटाए पनि लिटरमै २५ रुपैयाँ बढ्यो डिजेलको भाउ, पेट्रोलको कति ?

काठमाडौं । सरकारले भन्सार शुल्क र पूर्वाधार कर ५० प्रतिशत घटाए पनि नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

निगमले शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य समान प्रतिलिटर २५ रुपैयाँले बढाएको हो ।

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलण्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।

निगमले इन्धनको मूल्य बढाएको पछिल्लो २७ दिनमा यो चौथो पटक हो । यसअघि निगमले चैत १ गते, १२ गते र १९ गते मूल्य बढाएको थियो ।

मूल्य समायोजनसँगै पेट्रोलको भाउ पहिलो वर्गका लागि प्रतिलिटर ११६.५० रुपैयाँ, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २१९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य बढेसँगै पहिलो वर्गका लागि प्रतिलिटर २०४.५० रुपैयाँ, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर २०७ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

अमेरिका-इजरायल-इरान बीचको युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । पछिल्लो समयको मूल्य वृद्धिलाई प्रक्षेपण गर्दा १५ दिनमै ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने देखिएपछि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ, मट्टीतेलमा ५८.०३ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ५.७५ रुपैयाँ र खाना पकाउने ग्यासमा ४१६.३७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । तर, उपभोक्तको हितलाई मध्येनजर गर्दैै कम मात्रमा मूल्य बढाइएको निगमले जनाएको छ ।


Back_to_top