चीनले भन्यो-‘ठूलो ताल बनेको छ, फुट्ने जोखिम छ’

काठमाडौं । चीनले चिनियाँ भू भागमा ठूलो ताल बनेकाले अझै बाढीको जोखिम टरिनसकेको जानकारी गराएको छ ।

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठूलो ताल (ब्यारियर लेक) बनेको र उक्त ताल फुट्न सक्ने उच्च जोखिम रहेको बताएको हो ।

चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) का अनुसार ठूलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा यसको फुट्ने जोखिम उच्च रहेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ । र, जमेको पानी तालबाट बाहिरिन थालेको छ । आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी उक्त तालमा जम्मा हुने अनुमान गरिएको छ ।

पानीको मात्रा निरन्तर बढ्दै गएमा प्राकृतिक बाँध भत्किएर अचानक ठूलो बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । सम्भावित रूपमा प्राकृतिक बाँध फुटेमा बाढीको बहाव कता र कति तीव्र गतिमा पुग्न सक्छ भन्ने आकलन गर्न बाढीसम्बन्धी विभिन्न ‘सिमुलेसन’ तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आकस्मिक उद्धार तथा राहत कार्यमा सहयोग र्पुयाउन आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

लेहेन्दे खोलाको माथिल्लो क्षेत्रमा भइरहेको बरफ, हिउँ र चट्टानको पहिरो (एभालान्च) का कारण अझै पनि पानी जम्मा हुने प्रक्रिया जारी रहेको देखिन्छ।


Back_to_top