बाढीपीडितका लागि बीवाइडीले ७ करोड दिने

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी र नेपालस्थित आधिकारिक बिक्रेता साइमेक्स इंकले बाढीपीडितका लागि ७ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कम्पनीले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्थापनका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो ।

यो रकम बाढी प्रभावितको उद्धार, उपचार, तत्काल राहत, पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सरकारले गरिरहेको प्रयासमा सहयोगी हुने बीवाइडीले जनाएको छ । यसबाट प्रभावित परिवार र समुदायलाई पुनस्र्थापना र पुनर्निर्माणमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै बीवाइडीका उपाध्यक्ष लि जुलियाङले विपद्को यस कठिन समयमा पीडित परिवार तथा उद्धारमा खटिएका टोलीप्रति कम्पनीको ऐक्यबद्धता रहेको बताएका छन्।

कम्पनीका अनुसार नेपाली नागरिक विपत्तिमा परेको अवस्थामा सहयोगमार्फत आफ्नो सद्भाव र सामाजिक उत्तरदायित्व प्रस्तुत गर्न खोजिएको हो।

बीवाईडी ग्रुप उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजन महाप्रबन्धक लिउ सुएलियाङले नेपालमा आएको बाढीले निम्त्याएको विनाश र कठिनाइबाट दुःखी भएको बताए ।

‘यो कठिन समयमा हाम्रो मन-मस्तिष्क प्रभावित परिवार र समुदायसँगै मैदानमा अहोरात्र खटिरहेका उद्धार टोली र सबैसँग छ,’ उनले भने, ‘बीवाईडी नेपाली जनतासँग ऐक्यबद्धता व्यक्त गर्दछ, हाम्रो स्थानीय साझेदार साइमेक्ससँग मिलेर यो सहयोगले सरकारको राहत र पुनस्र्थापना प्रयासमा केही बल पुग्ने र प्रभावित समुदायलाई पुनस्र्थापना र पुनर्निर्माणमा मद्दत गर्ने विश्वास लिएका छौं ।’

बीवाईडी र साइमेक्स इन्कले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने प्रभावित समुदायको शीघ्र पुनस्र्थापना र पुनर्निर्माणको कामना गरेका छन् ।


Back_to_top