काठमाडौं । दुईपाँग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विभिन्न आकर्षक स्कीमहरू ल्याएका छन् ।
प्रायः अधिकांश ब्राण्डले नयाँ वर्षको अवसरमा नयाँ सवारी खरिद गर्ने ग्राहकलाई तान्न आर्कषक अफर ल्याएका हुन् । यसले कम्पनीको व्यापार बढाउनुका साथै ग्राहकलाई समेत सस्तो मूल्यमा सवारी खरिद गर्ने अवसर प्रदान गर्नेछ ।
बिक्रेताहरूले ग्राहक तान्न ५ लाख रुपैयाँसम्म नगद छुट, सरल फाइनान्स सुविधा, एक्स्चेन्ज सुविधा, लक्की ड्रमा बम्पर उपहार, पेट्रोल निःशुल्क जस्ता आकर्षक योजना ल्याएका हुन् ।
कुनको अफर कस्तो ?
बजाज
नेपालका लागि बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले बजाजका आधिकारिक शोरुमहरू, विभिन्न सञ्चार माध्यम, सामाजिक संजाल लगायत जहाँसुकै राखिएका क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् । हरेक दिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन् ।

साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् । कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् ।
होण्डा
नेपालमा होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले ‘८३ को सपना मेरो होण्डा’ नामक योजना ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकहरूले होण्डा ब्राण्डको मोटरसाइकल वा स्कुटर किन्दा स्क्रयाच कार्ड मार्फत अधिकतम १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
साथै, ग्राहकले ७ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउने छन् । जसले सवारी खरिदपछि दीर्घकालीन मर्मत खर्च घटाउने र सजिलो फाइनान्स सुविधामा दुईपाँग्रे स्कुटर खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमै फाइनान्स सुविधा पाउने छन् ।
सीएफमोटो
नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष लक्षित गर्दै आकर्षक अफर ल्याएको छ । यस योजना अन्तर्गत सीएफमोटो २५० डुअल ईएफआइ खरिद गर्ने ग्राहकहरूले ८ हजार ३०० रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, एक्सचेन्जमार्फत मोटरसाइकल साट्ने ग्राहकहरूले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्मको अतिरिक्त मूल्य पाउने छन् ।

यो योजना अन्तर्गत लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसका अलावा कम्पनीले सीएफमोटो २५० एनकेमा ९९ हजार र ३०० एनके मोडलमा १ लाख ५ हजार रुपैयाँ नगद छुट दिने छ ।
त्यसैगरी, कम्पनीले प्रिमियम एड्भेन्चर मोडेल सीएफमोटो ४५० एमटी (जेफिर ब्लू) खरिद गर्ने ग्राहकलाई विशेष प्याकेज उपलब्ध गराएको छ । जसमा ग्राहकले एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट पाउने छन् जुन अन्य मोडलको खरिदमा पनि पाइन्छ ।
यामाहा
यामाहाले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ‘यामाहा ब्लू कोड’ नामक विशेष अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकहरूले क्यूआर स्क्यान गरी रजिस्ट्रेसन गरेपछि विभिन्न किसिमका अफरमा सहभागी हुन सक्नेछन् । यो योजनामा एक्साइटमेन्ट, पर्फमेन्स र स्टाइल गरी तीन मुख्य क्याटेगोरीमा पुरस्कार व्यवस्था गरिएको छ ।
एक्साइटमेन्ट अफरअन्तर्गत ग्राहकहरूले घरबाटै सहभागितामा जनाएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । त्यस्तै, पर्फमेन्स अफर अन्तर्गगत यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राकहले ५ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । स्टाइल क्याटेगोरीमार्फत हाईटेक ग्याजेटहरू जित्ने मौका पाइने छ ।
साथै, स्पट एक्सचेन्ज, सजिलो फाइनान्स सुविधा, ३६ महिनासम्मको लोन अवधि र ५ वर्षसम्मको फ्री सर्भिस जस्ता थप सुविधाहरू पनि पाउने छन् ।
टीभीएस
पेट्रोलको मूल्य बढिरहँदा ग्राहक तान्नका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गज्जबको अफर ल्याएको छ । कम्पनीले ल्याएको ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् ।

यद्यपि, यो सुविधा सबै ग्राहकले भने पाउने छैनन् । कम्पनीका अनुसार यस अफर अन्तर्गत टीभीएसको मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट हरेक दिन लक्की ड्रमार्फत दुई जनाले १ देखि ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् ।
त्यस्तै, यही अफरमा ग्राहकले दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज बनाउन सरल फाइनान्स स्कीम पनि ल्याएको छ । ग्राहकले मासिक न्यूनतम २ हजार ९६७ रुपैयाँमै किस्ताबन्दी सुविधा पनि पाउने छन् ।
ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्डको पुरानो दुईपाँग्रे सवारी साधन टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् ।
हिरो
नेपालमा हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले ल्याएको ‘नयाँ युगको प्रारम्भ’ अफरमा ग्राहकले नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् ।
साथै, ग्राहकले यस अफरमा आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटरसँग हिरोमा नयाँ सवारी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा पनि १ लाखसम्मकै एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकको सहजतालाई मध्यनजर गर्दै इजी फाइनान्स सुविधा पनि दिइरहेको छ । ग्राहकलाई हिरोका मोटरसाइकल वा स्कुटर किन्न जगदम्बा हायर पर्चेजले नागरिकता र ड्राइभिङ लाइसेन्सकै आधारमा कर्जा उपलब्ध गराउने छ ।
सुजुकी
नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइलले ‘नयाँ वर्ष, नयाँ सुरूवात’ अभियानअन्तर्गत ग्राहकलाई नगद छुट तथा सजिलो फाइनान्स सुविधा उपलब्ध गराउने जनाएको छ।
यस अफर अन्तर्गत ग्राहकले अधिकतम १ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। साथै, नागरिकता र लाइसेन्स मात्रको आधारमा पनि सजिलै फाइनान्स सुविधा उपलब्ध हुने व्यवस्था गरेको छ।
नेपालमा उपलब्ध प्राय सबै दुईपाँग्रे कम्पनीहरूले फाइनान्समा मोटरसाइकल तथा स्कुटर किन्न चाहने ग्राहकहरूलाई सहजता प्रदान गर्न इजी डक्युमेन्ट प्रणाली अपनाई रहेका छन् । जसमा नागरिकता र ड्राइभिङ लाइसेन्स मात्रै भए पुग्ने सिस्टम छ ।


