काठमाडौं । जिली होल्डिङको स्वामित्वमा रहेको फारिजोन ब्राण्डका विद्युतीय भ्यान नेपाल प्रवेश गर्ने भएको छ । फारिजोन ब्राण्डका विद्युतीय साधनको आधिकारिक बिक्रेता शसिला मोटर्स नियुक्त भएको हो ।
यसअघि हाइगर ब्राण्डका प्रिमियम इलेक्ट्रीक भ्यानको आधिकारिक बिक्रेता रहेको शसिला मोटर्सले ल्याउन लागेको फारिजोन ब्राण्ड पनि चीनमा लाइट कमर्शियलमा निकै प्रिमियम ब्राण्ड मानिन्छ ।
सहरी क्षेत्रको लागि निकै उपयोगी मानिने कम्प्याक्ट इलेक्ट्रीक भ्यान यात्रु बोक्न र मालसामान ढुवानी गर्न मिल्ने गरी आउने छ । यात्रुको लागि १४ सिटे इलेक्ट्रीक भ्यानको रूपमा आउने ‘फारिजोन भी सेभेन ई’ कार्गोको लागि पनि उपयोगी हुनेछ ।
विश्व बजारमा फक्सवागेन आइडी बज तथा किया पीभी फाइभ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको ‘फारिजोन भी सेभेन ई’ अहिलेसम्म नेपालमा उपलब्ध मध्ये उत्कृष्ट लाइट कमर्शियल भेहिकल हुने शसिला मोर्टसको दावी छ ।
‘हामीले बजारमा नयाँ बेन्चमार्क गर्न सक्ने भेहिकल बिक्री थाल्दैछौं । यसको प्रतिस्पर्धी मोडल विश्वका टप ब्राण्ड फक्सवागेन र कियाले उत्पादन गरेको भ्यानहरूसँग हुन्छ,’ कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले मेरोअटोसँग भने ।

यात्रु बोक्ने ‘फारिजोन भी सेभेन ई’ १४ सिट क्षमताको लग्जरी भ्यान हो । कार्गो बोक्ने भ्यानले पनि १ हजार ३३८ किलोग्राम लोड बोकेर हिँड्न सक्छ । यसमा कार्गो एरिया २४५ क्यूबिक फिट रहेको छ ।
कार्गो स्पेशको लम्बाइ ४९९५ एमएम, चौडाइ १८२० एमएम र उचाइ १९८५ एमएम छ । यसमा ३२०० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनको साथ उपलब्ध ‘फारिजोन भी सेभेन ई’ ५० र ६६ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । सीएटीएलले उत्पादन गरेको टु सी सपोर्ट गर्ने ब्याट्री तिब्र गतिमा चार्ज हुन्छ ।

कम्पनीको दाबी अनुसार २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १०० किलोवाटको डीसी चार्जलाई केबल १२ मिनेट मात्रै लाग्नेछ । जुन नेपालमा उपलब्ध कुनै पनि ब्राण्डको भन्दा छिटो हो ।
यसले एसी चार्जर पनि ११ किलोवाटको सपोर्ट गर्छ । त्यति मात्रै होइन घरमा विजुली नभएको समयमा २४० भोल्टको पावर घरायसी प्रयोजनको लागि पनि लिन पाइन्छ ।


